भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

भेरी अस्पताल नेपालगन्जको क्याथ ल्याब सेवामार्फत आर्थिक वर्ष २०८२÷०८३ मा मुटुसम्बन्धी विभिन्न ८ सय ५३ वटा परीक्षण गरिएको छ ।

अस्पतालको क्याथ ल्याब सेवाको वार्षिक तथ्यांकअनुसार मुटुसम्बन्धी रोगको पहिचानदेखि जटिल उपचारसम्मका विभिन्न प्रक्रिया अस्पतालबाटै प्रदान गरिएको छ ।

अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷०८३ मा सबैभन्दा धेरै कोरोनरी एन्जियोग्राफी (सीएजी) गरिएको छ । उक्त अवधिमा ५ सय ४३ जनाको कोरोनरी एन्जियोग्राफी गरिएको तथ्यांकमा उल्लेख छ । कोरोनरी एन्जियोग्राफी मुटुका रक्तनलीमा अवरोध वा साँघुरोपन भए–नभएको पहिचान गर्न गरिने महत्वपूर्ण परीक्षण हो ।

त्यस्तै, सोही अवधिमा पक्र्युटेनियस कोरोनरी इन्टरभेन्सन (पीसीआई) सेवा २ सय ५० जनाले लिएका छन् । मुटुका रक्तनलीमा अवरोध देखिएपछि त्यसलाई खोल्न तथा रक्तसञ्चार सहज बनाउन गरिने यो उपचार प्रक्रिया हो । क्याथ ल्याबमा गरिएको कुल प्रक्रियामध्ये एन्जियोग्राफी र पीसीआईको संख्या मात्रै ७ सय ९३ रहेको छ ।

यसैगरी, अस्पतालमा टेम्पोररी पेसमेकर इन्सर्सन (टीपीआई) २४ वटा गरिएको छ । मुटुको धड्कनमा गम्भीर समस्या देखिएका बिरामीलाई अस्थायी रूपमा मुटुको धड्कन नियमित राख्न पेसमेकर प्रयोग गरिने गर्छ । अस्पतालको क्याथ ल्याबमा पर्मानेन्ट पेसमेकर इम्प्लान्टेसन (पीपीआई) पनि गरिएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा २२ जनामा स्थायी पेसमेकर जडान गरिएको तथ्यांकले देखाउँछ ।

त्यस्तै, मुटुको वरिपरि तरल पदार्थ जम्मा हुँदा त्यसलाई निकाल्ने उपचार प्रक्रिया पेरिकार्डियोसेन्टेसिस १० वटा गरिएको छ । यसबाहेक मुटुको रक्तनलीमा देखिएको अवरोधलाई बेलुनको माध्यमबाट खोल्ने प्लेन ओल्ड बेलुन एन्जियोप्लास्टी (पीओबीए) ४ वटा गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

Exit mobile version