रुपईडीहा थानामा ३० प्रहरीको सरुवा

file photo

सीमाक्षेत्रको सुरक्षामाथि चासो

नेपालगन्जसँग जोडिएको भारतीय सीमावर्ती बजार क्षेत्रको संवेदनशील प्रहरी युनिट रुपईडीहा थानाबाट एकै महिनामा ३० जना प्रहरी कर्मचारीको सरुवा भएपछि प्रहरी वृत्तमात्रै होइन, यसक्षेत्रमै चर्चा बढेको छ ।

विभिन्न विवादित बयानवाजीहरु जनताबीच चल्न थालेपछि जिल्ला प्रहरी प्रमुख विश्वजीत श्रीवास्तवको निर्देशनमा दुई चरणमा उनीहरूको सरुवा गरिएको हो ।

भदौपछि असोज महिनामा गरिएको सरुवाअन्तर्गत २६ सेप्टेम्बरमा १७ जना र २८ सेप्टेम्बरमा थप १३ जना प्रहरी कर्मचारीलाई रुपईडीहा थानाबाट जिल्लाका विभिन्न प्रहरी थानामा पठाइएको जानकारी सार्वजनिक भएको छ । यद्यपि ठूलो संख्यामा प्रहरी कर्मचारीको सरुवा गर्नुको आधिकारिक कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

रुपईडीहा नेपाल–भारत सीमासँग जोडिएको महत्वपूर्ण प्रहरी क्षेत्र भएकाले लामो समयदेखि एउटै स्थानमा कार्यरत प्रहरी कर्मचारीको सरुवालाई स्थानीयस्तरमा पनि चासोका साथ हेरिएको छ । सरुवापछि नयाँ प्रहरी कर्मचारीको टोली आउने भएकाले सीमा क्षेत्रमा गस्ती, कानून व्यवस्था र अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी काम हुने अपेक्षा स्थानीयको छ ।

रुपईडीहा थानामा करिब दुई वर्षदेखि कार्यरत सिपाही अभिषेक सिंह र करिब आठ महिनादेखि कार्यरत सिपाही अभिषेक राय पनि स्थानीयस्तरमा हुने विभिन्न चर्चामा आएका नाम हुन् । पछिल्ला दिनमा नेपाल सीमा हुँदै चाँदीका दाना तस्करी भएको भनिएको एउटा घटनामा अभिषेक रायको नामसमेत चर्चामा आएको थियो । तर उक्त विषयमा प्रहरीका कुनै अधिकारीले उनीमाथि आरोप पुष्टि गरेका छैनन् । उनको संलग्नताबारे पनि प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

सीमा क्षेत्रमा लामो समयसम्म एउटै प्रहरी कर्मचारी खटिँदा त्यसको कार्यसम्पादन र प्रभावकारिताबारे प्रश्न उठ्ने गरेको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार रुपईडीहा भारत–नेपाल सीमा क्षेत्रमा पर्ने भएकाले यहाँ प्रहरीको भूमिका अन्य क्षेत्रभन्दा संवेदनशील हुन्छ । त्यसैले नियमित रूपमा कर्मचारी परिवर्तन हुनु आवश्यक रहेको उनीहरूको धारणा छ ।

‘रुपईडीहा भारत–नेपाल सीमा क्षेत्रको महत्वपूर्ण थाना हो । यहाँ कानून व्यवस्था र अवैध गतिविधि नियन्त्रणमा प्रहरीको भूमिका निकै महत्वपूर्ण हुन्छ,’ स्थानीयको भनाइ छ । उनीहरूले नयाँ प्रहरी टोली आएपछि सीमाक्षेत्रको सुरक्षा व्यवस्थामा देखिने परिवर्तनलाई नजिकबाट नियाल्ने बताएका छन् ।

‘सरुवासँगै अब रुपईडीहा थानाको प्रहरी परिचालनमा कस्तो प्रभाव पर्छ भन्ने विषय पनि चासोको बनेको छ,’ स्थानीय पत्रकार भन्छन्, ‘विशेषगरी सीमा क्षेत्रमा हुने तस्करी र अन्य अवैध गतिविधिमाथि प्रहरीले कस्तो कारबाही अघि बढाउँछ भन्नेमा स्थानीयको ध्यान गएको छ ।’ नयाँ टोलीले प्रभावकारी गस्ती बढाउने र कानून व्यवस्था थप मजबुत बनाउने अपेक्षा स्थानीयले गरेका छन् ।

यसबीच जिल्ला प्रहरी प्रमुख विश्वजीत श्रीवास्तवले सेप्टेम्बर महिनामा अपराध नियन्त्रण, प्रभावकारी गस्ती र प्रहरी थानामा आउने उजुरीको गुणस्तरीय निराकरणलाई प्राथमिकतामा राख्दै आएका छन् । उनले प्रहरीको कामलाई थप प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आएका छन् ।

२१ सेप्टेम्बरमा भएको अपराध समीक्षा बैठकमा पनि श्रीवास्तवले प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए । उनले पीडितका उजुरीलाई छिटो र गुणस्तरीय रूपमा निराकरण गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

रुपईडीहा थानामा दुई चरणमा भएको ३० प्रहरी कर्मचारीको सरुवापछि अब नयाँ टोलीले सीमाक्षेत्रका चुनौतीलाई कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न उठेको छ । ‘अपराध नियन्त्रण, नियमित गस्ती र तस्करीलगायत अवैध गतिविधिमाथि हुने कारबाहीसँगै आम नागरिकमा प्रहरीप्रतिको विश्वास थप मजबुत बनाउन नयाँ टोली कति सफल हुन्छ भन्ने विषयमा स्थानीयको नजर रहेको छ,’ दैनिक नेपालगन्जसँग पत्रकारले भने ।

Exit mobile version