राप्तीको तटबन्धले फेरिँदैछ बाढीपीडित बस्तीको तस्वीर

राप्ती नदीमा निर्माण गरिएको पक्की तटबन्धले बाँकेको तटीय क्षेत्रका बस्तीमा बाढी र कटानको जोखिम घटाएको छ । वर्षौँदेखि नदी पस्ने त्रासमा रहेका स्थानीय यस वर्ष भने सुरक्षित महसुस गर्न थालेका छन् ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका अनुसार गत आर्थिक वर्षमा बाँकेका जोखिमयुक्त क्षेत्रमा ३ हजार १५० मिटर पक्की र ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको छ । यसबाट सयौँ बिघा खेतीयोग्य जमिन र हजारौँ स्थानीयको बसोबास जोगिएको आयोजना प्रमुख निश्चल छत्कुलीले बताए ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरमा १ हजार २०० मिटर, वडा नम्बर ५ बिनौनामा १ हजार ३०० मिटर, वडा नम्बर ७ खल्ला झगडियामा ५०० मिटर र वडा नम्बर ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध बनेको छ । तटबन्ध बनेपछि कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्ला झगडिया तथा नरैनापुर गाउँपालिका वडा नम्बर ५ र ६ का बस्ती यस वर्ष बाढीबाट जोगिएका छन् ।

यसअघि खल्ला झगडिया, देउपुर्वा, गंगापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायतका बस्ती उच्च जोखिममा थिए । वर्षा हुनासाथ स्थानीय रातभर जाग्राम बस्ने गरेका थिए ।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले यस वर्षको ठूलो वर्षा र बाढीमा पनि तटबन्धले बस्ती जोगाएको बताए । ‘खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघिको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ’, उनले भने, ‘पहिलेपहिले पानी पर्नेबित्तिकै भागाभाग हुन्थ्यो, अब भने नदी किनारका बासिन्दामा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्दै जाने ठूलो आशा पलाएको छ ।’

राप्तीसोनारीको जरैयामा गत आवमै बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रण गरिएको थियो । ‘यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ, तटबन्धको लागि ढुंगा जम्मा गर्ने काम भएको छ’, आयोजना प्रमुख छत्कुलीले भने, ‘गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यो वर्ष गाउँबस्ती सुरक्षित भएका छन् ।’

चालु आवमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिइएको छ । नयाँ संरचनाका लागि ढुंगा संकलन र प्राविधिक तयारी भइरहेको आयोजनाले जनाएको छ ।

Exit mobile version