डा. विकास नेपाल
कार्डियोलोजिष्ट
अहिले तपाईंकहाँ उपचारका लागि आउने बिरामीहरूमा मुटुरोगको मुख्य कारण के बढी देखिन्छ ?
अहिले मुटुरोगको मुख्य कारण भनेको हाम्रो खानपिन, आहार–विहार र शारीरिक व्यायामको कमी हो । आधुनिक जीवनशैलीका कारण मानिसहरूमा तयारी खाना तथा पौष्टिकताभन्दा कम भएका खानेकुरा, जंक फुड, बढी चिल्लोयुक्त खानेकुरा र ट्रान्स फ्याटजस्ता अस्वस्थकर पदार्थको सेवन बढिरहेको छ । त्यसले गर्दा मुटु तथा मुटु सम्बन्धी रोगहरूका साथै उच्च रक्तचाप, कोलेस्ट्रोल, थाइराइड र मधुमेहजस्ता समस्या पनि बढिरहेका छन् ।
यो बिरामीको संख्या स्वाभाविक रूपमा देखिएको हो कि पछिल्ला वर्षहरूमा अस्वाभाविक रूपमा बढेको अवस्था हो ?
अहिलेको तथ्यांक हेर्दा विगतको तुलनामा मुटुरोगका बिरामीको संख्या केही बढेको देखिन्छ । यसको मुख्य कारण खानपिन र शारीरिक गतिविधिसँग सम्बन्धित छ । मानिसहरूको जीवनशैली केही विलासी बन्दै गएको छ । खानपिन र नियमित व्यायाममा पर्याप्त ध्यान नदिँदा मुटुसम्बन्धी समस्याहरू पछिल्ला वर्षहरूमा केही बढिरहेका छन् ।
यस्तो अवस्थामा विश्व मुटु दिवस पनि मनाइरहँदा हामीले आम नागरिकलाई के सन्देश दिने ? कस्तो दिनचर्या अपनाउँदा मुटुरोगबाट जोगिन सकिन्छ ?
हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिन्छ । हरेक वर्ष विश्व मुटु महासंघले एउटा मूल नारा तय गर्छ । यस वर्षको मूल नारा ‘मुटुलाई धड्किन दिऔँ’ भन्ने रहेको छ ।
मुटुलाई स्वस्थ राख्नका लागि सबैभन्दा पहिले आफ्नो खानपिनलाई स्वस्थ र सन्तुलित बनाउनुपर्छ । नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ । यदि कसैलाई उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ र समय–समयमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
यसरी आफ्नो स्वास्थ्यप्रति सचेत रहँदा ठूलो हृदयघात तथा अन्य मुटुसम्बन्धी रोगका कारण हुने मृत्युको सम्भावनालाई केही हदसम्म कम गर्न सकिन्छ ।
विश्व मुटु दिवसको अवसरमा यससँग सम्बन्धित केही गतिविधि पनि गर्नुभएको छ ?
हो । हाम्रो तेजस्वी हर्ट सेन्टरले आज विश्व मुटु दिवसको अवसरमा यहाँ उपचारका लागि आउनुभएका बिरामीहरूको रगतमा रहेको कोलेस्ट्रोल अर्थात् बोसोको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ ।
मानिसहरूलाई आफ्नो खानपिनमा ध्यान दिनुपर्छ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि उचित स्तरमा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रम आयोजना गरिएको हो । दिवसका अवसरमा करिब ३० जना बिरामीलाई यो सेवा प्रदान गरिसकिएको छ ।
