भन्सार छली ल्याइएको ३ लाख ८० हजारको सामान बरामद

बाँके प्रहरीले भन्सार छली तस्करी गरी ल्याइएको करिब ३ लाख ८० हजार ९ सय रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार असोज १३ र १४ गते नेपालगन्ज उपमहानगरपालिका–१४ र १६ का विभिन्न स्थानबाट भन्सार छली ल्याइएका सामान बरामद गरिएको हो।

प्रहरीले बरामद गरेका सामानमा लत्ताकपडा, एलईडी बल्ब, छाला तथा कपडाका जुत्ता, सुर्तीजन्य पदार्थ र ‘माउन्टेन ड्यू’ नामक पेय पदार्थलगायत रहेका छन्। बरामद सामानको अन्दाजी मूल्य ३ लाख ८० हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

Exit mobile version