२५ वर्षको बचतले ज्योतिकुञ्जलाई आफ्नै छानो

घरको खाजा खर्चबाट बचाएको पैसाले सुरु भएको ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था आफ्नै भवनमा पुगेको छ । २५ जना महिलाले व्यक्तिगत ५० रुपैयाँबाट थालेको बचत अभियान अहिले १ हजार १ सय ७१ सदस्यको विशाल संस्थामा विस्तारमात्रै भएन आफ्नै कार्यालय भवनमा पुगेको हो ।

स्थापना भएको २५ वर्ष पूरा भएपछि आगामी जेठमा ज्योतिकुञ्जले रजत उत्सव मनाउँदैछ । स्थापना भएको २५ वर्ष पुग्न लाग्दा सहकारीले २९ लाख ९३ हजार ८ सय २८ रुपैयाँ लगानीमा आफ्नै भवन निर्माण गरेको हो ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संस्थाको नवनिर्मित भवन उद्घाटन गरे । सहकारीप्रति अविश्वास बढिरहेको समयका बीच निरन्तरता, पारदर्शिता र महिलाको सामूहिक प्रयासले संस्था यहाँसम्म आइपुगेको संस्थाका पदाधिकारी बताउँछन् ।

संस्थापक अध्यक्ष आसमाया बजगाईले महिलाको सानो बचतबाट सुरु भएको अभियानले आफ्नै भवनसम्मको यात्रा तय गरेको बताइन् । ‘घरबाट खाजा खर्च ल्याएर यो संस्था सुरु गरिएको हो,’ आफ्नै भवनमा कार्यालय सञ्चालन गर्न पाउँदा उत्साहित बजगाईले विहीवार दैनिक नेपालगन्जसँग उत्साहित स्वरमा भनिन् ।

२०५९ जेठ २४ गते २५ जना महिलाले व्यक्तिगत ५० रुपैयाँ बचत संकलन गर्दै संस्था सुरु गरेका थिए । संस्थापक अध्यक्ष बजगाईसहित तत्कालीन नेतृत्व र त्यसपछि संस्थालाई अघि बढाउने पूर्व अध्यक्ष सुष्मा महर्जनलगायतको योगदानलाई वर्तमान नेतृत्वले सम्झिएको छ । अध्यक्ष अनिता पौडेलले धेरै महिलाको निरन्तर योगदानकै कारण संस्था यो अवस्थामा आइपुगेको बताइन् । ‘धेरैको योगदानले यो संस्था यहाँसम्म आइपुगेको हो,’ उनले भवन उद्घाटन कार्यक्रममा भनिन् ।

ज्योतिकुञ्जको आकर्षक कार्यालय भवनमात्रै बनेको होइन, संस्थाको आर्थिक आधार पनि क्रमशः बलियो बन्दै गएको छ । व्यवस्थापक शोभा वैश्यका अनुसार, ज्योतिकुञ्जको कुल कारोबार ६ करोड २९ लाख ४८ हजार ३ सय ८३ रुपैयाँ २१ पैसा पुगेको छ । कुल बचत ४ करोड ६८ लाख ६३ हजार ४ सय २३ रुपैयाँ छ । सदस्यलाई प्रवाह गरिएको कुल ऋण ४ करोड ४३ लाख २७ हजार ३ सय ३२ रुपैयाँ २८ पैसा रहेको छ । कुल कोषमा ४८ लाख ७२ हजार ३ सय २८ रुपैयाँ रहेको छ भने शेयर पुँजी ५१ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

हाल संस्थामा ६ जना कर्मचारी छन् । उनीहरूले दैनिक प्रशासनिक तथा वित्तीय काम सम्हाल्दै आएका छन् । व्यवस्थापनका अनुसार, स्थापना भएदेखि संस्था घाटामा गएको छैन । ज्योतिकुञ्ज दुई पटक उत्कृष्ट महिला सहकारीका रूपमा सम्मानित भइसकेको छ । संस्थासँग जोडिएको विवरणमा २०६८ र २०८३ सालमा प्राप्त सम्मानको उल्लेख छ ।

आफ्नै भवन बनाउने योजनाले पनि लामो समय लिएको थियो । कोषाध्यक्ष शारदा श्रेष्ठका अनुसार २०७४ साउनमा १० धुर जग्गा ३१ लाख ४ सय रुपैयाँमा खरिद गरिएको थियो । त्यही जग्गामा भवन निर्माणका लागि २९ लाख ९३ हजार ८ सय २८ रुपैयाँ खर्च गरिएको हो ।

भवन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले दिएको ३ लाख रुपैयाँ सहयोगले संस्थालाई थप हौसला मिलेको अध्यक्ष पौडेलले बताइन् । उनका अनुसार, उपमहानगरपालिकाको सहयोगले भवन निर्माण अघि बढाउने आधार तयार भएको थियो ।

ज्योतिकुञ्जको २५ वर्षे यात्रालाई केवल बचत र ऋणको हिसाबमा सीमित गर्न नहुने संस्थाका पदाधिकारी बताउँछन् । ‘सामान्य बचतबाट सुरु भएको संस्थाले महिलालाई आर्थिक रूपमा संगठित गर्ने अवसर दिएको छ,’ अध्यक्ष पौडेलले भावुक हुँदै भनिन् । उनका अनुसार, नियमित बचत गर्ने बानीबाट सुरु भएको प्रयास अहिले ठूलो कारोबार व्यवस्थापन गर्ने चरणमा पुगेको छ । सहकारी क्षेत्रमा विश्वासको संकट देखिएका बेला पनि सदस्यको निरन्तर सहभागिता र संस्थाको नियमित सञ्चालनलाई उनीहरूले उपलब्धिका रूपमा लिएका छन् ।

विहीवर भवन उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी थिए । उनीसँगै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी ओली, पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका कार्यालय प्रमुख प्रकाश थपलिया तथा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग केन्द्र नेपालगन्जकी प्रतिनिधि दिव्या बहिनीले पनि धारणा राखेका थिए ।

Exit mobile version