लागू पदार्थ सेवन गरेको आरोपमा पाँच सवारी चालक पक्राउ

बाँकेमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी साधन चलाएको आरोपमा पाँच जना चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार नेपालगन्ज उपमहानगरपालिका–१० गणेशमान चोकस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज परिसरमा गरिएको लागू पदार्थ सेवन परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।

लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले ४० वटा सवारी साधनका चालकको लागू पदार्थ सेवन परीक्षण गरेको थियो।

परीक्षणका क्रममा पाँच जना चालकले लागू पदार्थ सेवन गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। पक्राउ परेका चालकहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Exit mobile version