इतरकांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन

‘बाँकेमा ८१ वटै वडाको तयारी’

शेर बहादुर देउवा पक्षधर नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ । महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला बाँकेमा पनि ८१ वटै वडामा अधिवेशनका लागि तयारी पूरा भएको जिल्ला संयोजक कृष्ण कार्कीले बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जारी गरेको विवरणअनुसार देशभरका कुल ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो । बाँकी वडाको अधिवेशन असोज १८ गतेसम्म सम्पन्न गर्ने तयारी गरिएको समितिले जनाएको छ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले वडा, पालिका र क्षेत्रको अधिवेशन सकेपछि देउवा पक्षधरहरु सांगठनिक गतिविधिमा सक्रिय भएका हुन् ।

प्रदेशगत रूपमा कोशी प्रदेशका ५७७ वडामा अधिवेशन सकिएको छ । मधेस प्रदेशमा ४०२, बागमती प्रदेशमा ५६३, गण्डकी प्रदेशमा ३८६, लुम्बिनी प्रदेशमा ५५०, कर्णाली प्रदेशमा २५७ र सुदूरपश्चिम प्रदेशमा ४५६ वडामा अधिवेशन सम्पन्न भएको विवरणमा उल्लेख छ ।

बाँकेमा भने सबै ८१ वटै वडामा अधिवेशनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको कार्कीले बताए । उनका अनुसार, जिल्लाका सबै वडामा संगठनको उपस्थिति रहेकाले निर्धारित प्रक्रियाअनुसार अधिवेशन गरिनेछ ।

‘बाँकेमा पनि आवश्यक तयारी पूरा भएको छ,’ विहीवार साँझ कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘८१ वटै वडामा संगठनको बलियो उपस्थिति रहेकाले औपचारिक रूपमै अधिवेशनहरू हुनेछन् ।’

तोकिएको समयमै वडा अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी अघि बढाइएको कार्कीले बताए । जिल्लामा वडा तहको अधिवेशनसँगै महाधिवेशन प्रक्रियालाई थप अगाडि बढाउने गरी संगठनात्मक काम भइरहेको कार्कीको भनाइ छ ।

पार्टी सम्बद्ध स्रोतका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१८ मा जिल्ला पार्टी सम्पर्क कार्यालय स्थापना गरेर बसेका कार्कीले संस्थापनसँग असन्तुष्ट समूहसँग पनि छलफललाई तीव्र बनाएका छन् । उनले असन्तुष्ट पक्षका नेता तथा कार्यकर्तासँग व्यापक छलफल गरिरहेको स्रोतले जनाएको छ ।

देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्तावसहित प्रक्रिया अघि बढाएको छ । त्यसैअनुसार वडा तहदेखि महाधिवेशनसम्मको आन्तरिक तयारीलाई तीव्र पारिएको हो । यसअघि संस्थापनइतर समूहबाट पनि मंसिर २१ देखि २३ गतेसम्मकै लागि छुट्टै महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको सार्वजनिक विवरणमा उल्लेख छ ।

वडा अधिवेशनपछि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिवेशन प्रक्रिया क्रमशः अघि बढ्ने भएकाले अहिले वडा तहको निर्वाचनलाई प्राथमिकतामा राखिएको छ । नेपाली कांग्रेसको आधिकारिक सूचनाले पनि १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको प्रक्रिया अघि बढिसकेको जनाएको छ ।

Exit mobile version