पत्रकार महासंघ बाँकेले सदस्यता विवरण सार्वजनिक गर्ने

नेपाल पत्रकार महासंघ बाँके शाखाले तोकिएको समयभित्र सदस्यता नवीकरण गरेका साधारण सदस्यको विवरण सार्वजनिक गर्ने भएको छ । शाखाको फेसबुक पेज र वेबसाइटमार्फत नवीकरण गर्ने सदस्यको विवरण सार्वजनिक गर्ने निर्णय गरिएको हो ।

‘शाखाको कार्यसमिति बैठकले नवीकरण भएका सदस्यको विवरण प्रदेश समितिमा पठाउने निर्णयसमेत गरेको छ,’ सचिव कृष्ण ओलीले दिएको जानकारीमा भनिएको छ, ‘सदस्यता शुल्क भने विधानअनुसार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको खातामा दाखिला गरिने भएको छ ।’

बाँके शाखाको कार्यालयमा बुधबार बसेको कार्यसमिति बैठकले सदस्यता नवीकरणसँगै आगामी पर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । नेपालीहरूका महान् पर्व विजयादशमी, दिपावली, नेपाल सम्बत् ११४७ तथा छठ पर्वको अवसरमा कार्यक्रम गर्न लागिएको हो ।

शाखाले असोज २८ गते बुधबार शाखाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ । कार्यक्रममा शाखाका पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत सहभागी गराइनेछ ।

बैठक शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको थियो । बैठकले सदस्यता नवीकरणसम्बन्धी विवरण सार्वजनिक गर्ने, प्रदेश समितिमा पठाउने तथा विधानबमोजिम सदस्यता शुल्क सम्बन्धित समितिको खातामा दाखिला गर्ने निर्णय गरेको हो ।

शाखाले पर्वका अवसरमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान कार्यक्रमलाई पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यसँग भेटघाट र शुभकामना साटासाट गर्ने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

Exit mobile version