समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

विषय प्रवेश
नेपालगन्जसँग सम्भावना नभएको हो कि सम्भावनालाई परिणाममा बदल्ने सामूहिक इच्छाशक्ति र निरन्तरताको कमी भएको हो ?
नेपालगन्जको विगत हेर्दा यो प्रश्न अझ गम्भीर देखिन्छ । कुनै समय पश्चिम नेपालको प्रमुख व्यापारिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य तथा प्रशासनिक केन्द्रका रूपमा स्थापित नेपालगन्ज पछिल्लो समय आफ्नो पुरानो लयबाट केही पछाडि परेको अनुभूति धेरैले गर्ने गरेका छन् । संघीय संरचनापछि राज्यका विभिन्न संरचना र अवसरहरू भूगोलका हिसाबले पुनर्वितरित हुँदा यसको प्रभाव नेपालगन्जमा पनि परेको छ । तर परिस्थितिलाई मात्र दोष दिएर अब अगाडि बढ्न सकिँदैन । प्रश्न हो, हामीसँग भएका सम्भावनालाई कसरी अवसरमा बदल्ने ?

समस्या सम्भावनाको होइन, प्राथमिकता र निरन्तरताको हो ।
नेपालगन्जको विकासका विषयमा छलफल गर्दा नयाँ सम्भावना खोज्नुभन्दा पहिले हामीसँग भएका सम्भावनाको व्यवस्थित उपयोग गर्नुपर्ने देखिन्छ ।
प्रतिष्ठित बागेश्वरी मन्दिरदेखि निर्माण सम्पन्न हुँदै गरेको बजरंगबली हनुमानको विशाल मूर्तिसम्म, भारतीय हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानसरोवरतर्फ जाने महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको नेपालगन्जदेखि कर्णाली प्रदेशका धार्मिक तथा प्राकृतिक पर्यटन गन्तव्यसम्म—नेपालगन्जसँग पर्यटनका लागि आवश्यक आधारहरू छन् । नेपालगन्ज विमानस्थलको क्षेत्रीय महत्व छ । स्तरीय होटलहरू छन् ।
शिक्षा क्षेत्रमा नाम र काम दुवै स्थापित गरेका विद्यालय तथा कलेजहरू छन् । स्वास्थ्य क्षेत्रमा भरोसायोग्य अस्पताल र स्वास्थ्यकर्मी छन् । उद्योग–व्यवसायको लामो इतिहास छ । प्रतिष्ठित उद्योग प्रतिष्ठान र कलकारखाना छन् । सीमावर्ती बजार र व्यापारको आफ्नै सम्भावना छ । आठौँ राष्ट्रिय खेलकुदका क्रममा निर्माण भएको नेपालगन्ज रंगशाला र त्यससँग जोडिएका खेलकुद संरचनाहरू पनि महत्वपूर्ण सम्पत्ति हुन् ।

प्रश्न यति मात्र हो, यी सबै सम्पत्तिलाई एउटै विकासको कथामा कसरी जोड्ने ?
रंगशालालाई खेलकुद गतिविधिको केन्द्र मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, खेल पर्यटन र खेलसम्बन्धी आर्थिक गतिविधिको केन्द्र बनाउन सकिन्छ । धार्मिक पर्यटनलाई होटल, यातायात, स्थानीय उत्पादन र रोजगारीसँग जोड्न सकिन्छ । विमानस्थललाई पर्यटन, व्यापार र स्वास्थ्य सेवाको विस्तारसँग जोड्न सकिन्छ । कर्णालीका गन्तव्यहरूलाई नेपालगन्जको प्रवेशद्वारसँग जोडेर पर्यटनको आर्थिक लाभ यहाँसम्म ल्याउन सकिन्छ ।
तर त्यसका लागि योजना चाहिन्छ । योजना मात्र होइन, योजनाको निरन्तर कार्यान्वयन र त्यसको निगरानी गर्ने संयन्त्र चाहिन्छ ।
छलफल धेरैं, निष्कर्ष र कार्यान्वयन कम
नेपालगन्जमा विकासका विषयमा बहसको कमी छैन । गोष्ठी हुन्छन्, अन्तरक्रिया हुन्छन्, समितिहरू बन्छन्, प्रस्तावहरू तयार हुन्छन् । तर धेरैपटक बहसले सार्थक निष्कर्ष पाउने र निष्कर्ष कार्यान्वयनमा पुग्ने क्रम कमजोर देखिन्छ ।
हामीमध्ये धेरैलाई आफू विकासको विषयमा जान्ने–सुन्ने र समाधान दिन सक्ने व्यक्ति हुँ भन्ने लाग्छ । तर समृद्धि व्यक्तिगत ज्ञान, दाबी वा लोकप्रियताबाट मात्र सम्भव हुँदैन । त्यसका लागि सामूहिक सोच, जिम्मेवारी बाँडफाँट, संस्थागत क्षमता र निरन्तरता आवश्यक हुन्छ ।

संरचनामा बस्न हामी उत्साहित हुन्छौँ । समिति बनाउँदा पदाधिकारी र सदस्य बन्न पनि इच्छुक हुन्छौँ । तर समिति बनेपछि त्यसलाई समय दिने, निर्णय गर्ने र निर्णय कार्यान्वयन गराउने विषयमा भने प्रश्न उठ्ने गर्छ ।
पद प्राप्त गर्नु र जिम्मेवारी निर्वाह गर्नु एउटै कुरा होइन । नेपालगन्जलाई अहिले पदमा बस्न चाहनेभन्दा कामको जिम्मेवारी लिन तयार नेतृत्व आवश्यक छ ।
साझा मुद्दामा साझा धारणा
नेपालगन्जको समृद्धिका लागि सबैभन्दा पहिले केही विषयमा साझा धारणा निर्माण गर्न आवश्यक छ । राजनीतिक दल फरक हुन सक्छन् । व्यवसायीका प्राथमिकता फरक हुन सक्छन् । नागरिक समाज, प्राज्ञिक क्षेत्र, सञ्चार क्षेत्र र पेशागत संस्थाका आफ्ना–आफ्ना दृष्टिकोण हुन सक्छन् । तर नेपालगन्जको दीर्घकालीन हितका केही विषयमा साझा धारणा बन्न सक्नुपर्छ ।
नेपालगन्जको दीर्घकालीन गुरुयोजना के हो ? आगामी पाँच, दश वा बीस वर्षमा नेपालगन्जलाई कस्तो शहर बनाउने ? व्यापारिक केन्द्र, पर्यटनको प्रवेशद्वार, स्वास्थ्य र शिक्षाको हब, लजिस्टिक्स तथा औद्योगिक केन्द्र, खेलकुदको गन्तव्य वा यी सबैलाई समेटेको व्यवस्थित क्षेत्रीय शहर ? यसको स्पष्ट उत्तर आवश्यक छ ।
गुरुयोजना बनेपछि सरकार परिवर्तन, नेतृत्व परिवर्तन वा व्यक्ति परिवर्तनसँगै योजना बदलिनु हुँदैन । योजना व्यक्तिको होइन, नेपालगन्जको साझा सम्पत्ति बन्नुपर्छ ।

नेतृत्वप्रतिको भरोसा र परिणाम
केन्द्रिकृत राज्य संरचनामा प्रभावशाली नेतृत्वले स्थानीय तथा क्षेत्रीय विकासमा ठूलो भूमिका खेल्ने गर्छ । नेपालगन्जको सन्दर्भमा पनि नेतृत्वको प्रश्न महत्वपूर्ण छ ।भएको नेतृत्वमाथि विश्वास नहुनु, विश्वास गरिएको नेतृत्वबाट अपेक्षित परिणाम हासिल नहुनु, नेतृत्व परिवर्तनसँगै प्राथमिकता परिवर्तन हुनु र उठाइएका विषयले निरन्तरता नपाउनु—यी सबैले विकास प्रक्रियालाई कमजोर बनाउँछन् । तर समस्या केवल नेतृत्वमा मात्र देखाएर नागरिकको भूमिकाबाट पन्छिन पनि मिल्दैन ।
हामी नेतृत्व खोज्छौँ, तर नेतृत्वलाई आवश्यक सहयोग र रचनात्मक दबाब दिन कति तयार छौँ ? हामी विकासको विषयमा बोल्छौँ, तर आफ्नो क्षेत्रबाट योगदान गर्ने बेलामा कति अगाडि आउँछौँ ? समृद्ध शहर केवल नेताले बनाउने होइन; नेतृत्व, निजी क्षेत्र, नागरिक समाज, पेशागत संस्था र आम नागरिकको साझा प्रयत्नले बनाउने हो ।
नेपालगन्जका चासो र साझा मुद्दामा नेपालगन्ज उद्योग वाणिज्य संघले सामूहिक नेतृत्व गर्ने अवसर प्राप्त गर्दा सदस्य सचिवको भूमिकामा रहेर काम गर्ने अवसर मलाई पनि प्राप्त भयो । त्यस क्रममा नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको पहललगायत नेपालगन्जका विभिन्न महत्वपूर्ण विषयमा संस्थागत रूपमा काम गर्ने अनुभव भयो । त्यो अनुभव मेरा लागि आफैँमा एउटा सिकाइ थियो ।
कुनै विषय उठाउनु सजिलो रहेछ, तर त्यसलाई निरन्तरता दिनु, सरोकारवालालाई एउटै ठाउँमा ल्याउनु, सम्बन्धित निकायमा निरन्तर दबाब सिर्जना गर्नु, निर्णय गराउनु र निर्णय कार्यान्वयन भएको सुनिश्चित गर्नु निकै चुनौतीपूर्ण काम रहेछ ।
त्यसैले आज पछाडि फर्केर हेर्दा मलाई लाग्छ, नेपालगन्जका मुद्दा उठाउनुभन्दा पनि उठाइएका मुद्दालाई निष्कर्षमा पु¥याउने गतिशील संयन्त्रको आवश्यकता बढी छ ।

व्यक्ति परिवर्तन हुन सक्छ । संस्था परिवर्तन हुन सक्छ । नेतृत्व परिवर्तन हुन सक्छ । तर मुद्दा र लक्ष्य परिवर्तन हुनु हुँदैन ।
समृद्धिका आधारहरू हामीसँगै छन् !
नेपालगन्जको समृद्धिका लागि बाहिरबाट चमत्कार खोजिरहनुपर्ने अवस्था छैन । सीमा व्यापार छ । कृषि उत्पादनको ठूलो सम्भावना छ । उद्योगको आधार छ । स्वास्थ्य सेवा छ । शैक्षिक संस्था छन् । होटल तथा आतिथ्य क्षेत्रको क्षमता छ । विमानस्थल छ । खेलकुदका संरचना छन् । धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना छ ।
कर्णालीका विशाल पर्यटन गन्तव्यसँग जोडिने भौगोलिक अवसर छ । भारतसँगको निकटता छ । सबैभन्दा महत्वपूर्ण कुरा, नेपालगन्जमा केही गर्ने इच्छाशक्ति भएको ठूलो जनशक्ति छ ।
अब आवश्यकता यी सबैलाई एउटै आर्थिक र विकास रणनीतिमा जोड्नु हो ।
स्वदेशी उत्पादन र स्वदेशी बजार !
नेपालगन्जको समृद्धिमा स्थानीय बजारको भूमिका पनि महत्वपूर्ण छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय उद्योगबाट उत्पादित वस्तु प्रयोग गर्ने र स्थानीय व्यवसायलाई प्राथमिकता दिने संस्कार विकास गर्न आवश्यक छ । हामीले ‘नेपालगन्जमा कमाइन्छ तर खर्च अन्यत्र गरिन्छ’ भन्ने प्रवृत्तिलाई बदल्नुपर्छ ।
स्थानीय उत्पादन, स्थानीय व्यवसाय र स्थानीय रोजगारीबीचको सम्बन्ध बलियो बनाउन सकियो भने एउटा रुपैयाँ धेरैपटक नेपालगन्जकै अर्थतन्त्रमा घुम्न सक्छ । यो केवल आर्थिक विषय होइन, नागरिकको दायित्वबोधसँग जोडिएको विषय पनि हो ।

अब नेपालगन्जलाई उत्तरदायी नेतृत्व चाहिन्छ, नेपालगन्जले परिणाम देखाउने नेतृत्व खोजिरहेको छ ।
नीति, नियम र कानूनको पालना गराउने । शहरलाई व्यवस्थित बनाउने । दीर्घकालीन सोच राख्ने । सबै पक्षलाई संवादमा ल्याउने । निजी क्षेत्रसँग सहकार्य गर्ने । नागरिकको आवाज सुन्ने । निर्णय गर्न सक्ने । निर्णयको जिम्मेवारी लिन सक्ने । र सबैभन्दा महत्वपूर्ण—आज सुरु गरेको काम भोलिको नेतृत्वले पनि निरन्तरता दिने वातावरण बनाउन सक्ने ।
नेपालगन्जलाई यस्तो नेतृत्व आवश्यक छ, जसमा इमानदारी, क्षमता, चिन्तनशीलता, समन्वयकारी क्षमता र स्पष्ट दृष्टिकोण होस् । ‘नगरपिता’ भन्ने परम्परागत सम्बोधनभन्दा पनि आजको आवश्यकता उत्तरदायी, पारदर्शी, सक्षम र दूरदर्शी स्थानीय नेतृत्व हो ।

अब प्रश्न ‘सम्भव छ कि छैन ?’ होइन
नेपालगन्जको समृद्धिका विषयमा चिन्ता गर्ने मानिस धेरै छन्, सम्भावना देख्ने मानिस पनि धेरै छन् । अब आवश्यक कुरा ती चिन्ता र सम्भावनालाई साझा कार्ययोजनामा रूपान्तरण गर्नु हो । नेपालगन्जको पुरानो लय फर्काउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नभन्दा ठूलो प्रश्न हामीले त्यसका लागि कस्तो सामूहिक प्रयास गर्छौँ भन्ने हो ।
हामीसँग सम्भावना छ । हामीसँग स्रोत छन् । हामीसँग अनुभव छ । हामीसँग जनशक्ति छ । हामीसँग संस्थाहरू छन् । अब चाहिएको छ, दीर्घकालीन दृष्टि, साझा संकल्प, सक्षम नेतृत्व र निरन्तर कार्यान्वयन । नेपालगन्जको समृद्धिका लागि अर्को समिति मात्र होइन, काम गर्ने गतिशील संयन्त्र आवश्यक छ । अर्को घोषणा मात्र होइन, समयबद्ध कार्ययोजना आवश्यक छ । अर्को बहस मात्र होइन, बहसबाट निष्कर्ष र निष्कर्षबाट कार्यान्वयन आवश्यक छ ।
नेपालगन्जले धेरैपटक सम्भावना देखाइसकेको छ । अब त्यसलाई परिणाममा देखाउने समय हो ।
समृद्ध नेपालगन्ज सम्भव छ, तर त्यो सम्भावना आफैँ समृद्धिमा रूपान्तरण हुँदैन । त्यसका लागि हामी सबैले आफ्नो–आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ । (रानाभाट नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान महासचिव हुन )

Exit mobile version