बी–ग्रुपको २७ औं साधारणसभा तथा सामाजिक परीक्षण

स्थानीय तहमा २२ करोडबढी लगानी

भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले आर्थिक वर्ष २०८२÷०८३ मा बाँके, बर्दिया र कैलालीका १८ स्थानीय तहमा २२ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । संस्थाका अनुसार, उक्त अवधिमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमबाट ५० हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

शनिबार नेपालगन्जमा आयोजित संस्थाको २७ औँ साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन गरिएका परियोजनाको प्रगति, उपलब्धि र आर्थिक विवरण प्रस्तुत गरिएको हो । सचिव रामनिवास यादवले परियोजनाबाट हासिल उपलब्धि तथा प्रगति विवरण र कोषाध्यक्ष नर्वदा दाहालले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

समतामूलक, स्वस्थ, सुरक्षित र आत्मनिर्भर समाज निर्माणको लक्ष्यसहित बी–ग्रुपले पोषण, शिक्षा, बाल संरक्षण, विपद् व्यवस्थापन, वातावरण संरक्षण र जीविकोपार्जनका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । एक हजार दिनका बच्चा र आमाको पोषण सुधारका लागि आमा समूहका सदस्यलाई किसान कार्डमार्फत पोषण बगैंचा निर्माणमा सहजीकरण गरिएको छ । यसबाट पोषिला खानेकुरा उत्पादन र उपभोगमा सहयोग पुगेको संस्थाले जनाएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपचारात्मक शिक्षामार्फत सिकाइ उपलब्धि कमजोर भएका बालिकालाई सहयोग गरिएको छ । विद्यालयमा सूचना, शिक्षा र सञ्चार प्रविधिको स्थापना तथा विस्तार, बाल संरक्षणका लागि सरोकारवालाको क्षमता विकास र बालविवाह न्यूनीकरणका लागि स्थानीय पालिकालाई रणनीति निर्माण तथा कार्यान्वयनमा सहयोग गरिएको संस्थाले जनाएको छ ।

वातावरण तथा जीविकोपार्जनतर्फ मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, दिगो वन व्यवस्थापन र पर्यापर्यटन प्रवद्र्धनमार्फत उद्यम विकासमा सहयोग गरिएको छ । बबई, कर्णाली र मोहना जलाधारको तल्लो तटीय क्षेत्रमा रहेका विपद्को उच्च जोखिममा रहेका समुदायको प्रतिकार्य क्षमता बढाउन तथा बहुप्रकोपीय पूर्वसूचना प्रणाली सबलीकरणमा पनि संस्थाले काम गरेको जनाएको छ ।

स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको क्षमता विकास, विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा, पूर्वानुमानमा आधारित पूर्वकार्यढाँचा र विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत मापदण्ड कार्यान्वयनका लागि पालिकालाई सहयोग गरिएको छ । जोखिम नक्सांकन, विपद् स्वयंसेवक तालिम, खोज तथा उद्धार सामग्री, सामुदायिक आश्रयस्थल, कल्भर्ट र शौचालय निर्माणमा समेत सहयोग गरिएको संस्थाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकालाई सरसफाइकर्मीका लागि पेशागत स्वास्थ्य सहयोग मार्गदर्शन नीति बनाउन प्राविधिक तथा आर्थिक सहयोग गरिएको छ । यसबाट औपचारिक र अनौपचारिक रूपमा काम गरिरहेका सरसफाइकर्मीलाई पेशागत स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको संस्थाको भनाइ छ । बबई र कर्णाली नदी जलाधारको तल्लो तटीय क्षेत्रका किसानलाई सूचकांकमा आधारित बाढी बीमा कार्यक्रममा सहभागी गराएर जोखिम हस्तान्तरणको अभ्याससमेत अघि बढाइएको छ ।

सामाजिक परीक्षणमा सहभागी लाभग्राहीले परियोजनाका गतिविधिबाट व्यक्तिगत तथा सामुदायिक तहमा सहयोग पुगेको बताए । सामाजिक परीक्षणको सहजीकरण विज्ञ हरि सुवेदीले गरेका थिए ।

संस्थाका अध्यक्ष डा. इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले सामाजिक विकासमा संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना कुमारी भट्टराईले शैक्षिक क्षेत्रमा बी–ग्रुपले पु¥याएको योगदानको प्रशंसा गरिन् । सामाजिक संस्थाले सञ्चालन गरेका काममा नगरपालिकाले पनि हातेमालो गर्दै लक्षित समुदायमा कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् ।

साधारणसभाका अवसरमा उत्कृष्ट कर्मचारी र संस्थाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीतर्फ पोषण परियोजनाकी स्वास्थ्य अधिकृत सुजाता आचार्य, समुदायका लागि जलवायु उत्थानशील परियोजनाका कार्यक्रम अधिकृत जनकराम चौधरी, सम्बद्र्धन परियोजनाका लेखा अधिकृत तारा वली, सिकाइ सुधार परियोजनाका शिक्षा प्राविधिक स्रोत व्यक्ति देवी लामा र प्रयास २ परियोजनाकी फिल्ड सुपरभाइजर शान्ता विक सम्मानित भए ।

त्यस्तै प्रयास २ का कार्यक्रम संयोजक खेमराज भण्डारी, सिकाइ सुधार परियोजनाका कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्मा, प्रयास परियोजनाका लेखा अधिकृत टिकेश्वर चौधरी र विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन परियोजनाका कार्यक्रम संयोजक भुवन कार्कीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा आईडीई नेपालकी कल्पना धिताल, परियोजना सञ्चालन भएका स्थानीय तहका सरोकारवाला, केयर नेपालका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो । साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी दिए ।

Exit mobile version