रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, दरखसवाबाट हराएकी १० वर्षीया बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत असोज १५ गते बालिका हराएको सूचना प्राप्त भएपछि खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा नगरपालिका–१० स्थित चक्रहवा जंगलबाट बालिकालाई सकुशल फेला पारिएको थियो। आवश्यक स्वास्थ्य परीक्षणपछि असोज १७ गते बालिकालाई परिवारको जिम्मा लगाइएको थियो।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका–१०, शान्तिनगर निवासी अन्दाजी २७ वर्षीय युवराज थारुलाई प्रहरीले असोज १८ गते राति तिलोत्तमा–१७, दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुको घुँडामुनि गोली प्रहार गरिएको थियो। गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
