नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले सञ्चालन गर्दै आएको १५ दिने संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानको समीक्षा गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी बाँकेले जिल्लाका आठवटै पालिका र ८१ वटै वडामा अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा वडा कमिटी गठन, टोल कमिटी गठन, संगठित सदस्यता नवीकरण, पालिकास्तरीय पार्टी समायोजन तथा वडा र पालिकामा पार्टीको वर्तमान अवस्थालगायतका वास्तविक अवस्था बुझ्ने काम गरिएको थियो।
अभियानका क्रममा स्थानीय पालिका संयोजक, पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, विद्यार्थी तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिलगायत पार्टी पङ्क्तिका नेता तथा कार्यकर्ता परिचालन गरिएको थियो।
अभियानलाई सफल बनाउन ८१ वटै वडा संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, पालिका संयोजकहरूले समग्र प्रतिवेदन जिल्ला संयोजकलाई हस्तान्तरण गरेका थिए।
नेकपा बाँकेका संयोजक दीपक जीएमको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथिका रूपमा पूर्णा कुमारी सुवेदीको उपस्थिति थियो। कार्यक्रममा केन्द्रीय सदस्यहरू तिलक परियार, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे, पार्वती पुन, केशकुमारी भुसाल, विनोद मैनाली, डम्बर विक ‘तुफान’ तथा प्रदेश संयोजक अब्दुल हुसेन खाँलगायतको उपस्थिति रहेको थियो।
