‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

नेपाल उद्योग तथा व्यवसायी महासंघका उपमहासचिव एवं संगठन विभाग प्रमुख डोलनाथ खनालले व्यवसायीको लगानी, पुँजी र श्रमिकको संरक्षणका लागि नेकपा (एमाले) को नीति र दृष्टिकोण महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले आयोजना गरेको विजयादशमी, शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै खनालले व्यवसायीको हित संरक्षणका लागि एमालेको विकल्प नरहेको दाबी गरे । उनले व्यवसायीका समस्या समाधान र राष्ट्रिय पुँजीको संरक्षणमा एमालेले नीतिगत रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

‘हामी पहिला व्यवसायी हौं । व्यवसाय कसरी सञ्चालन गर्ने, पुँजीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयसँगै पार्टी, समाज र परिवार पनि जोडिन्छन्’, उनले भने, ‘व्यवसायी, लगानी र श्रमिकको संरक्षणका लागि एमालेको चिन्तन र दृष्टिकोणबाहेक अन्य विकल्प प्रभावकारी रूपमा देखा परेको छैन ।’

संगठन विभाग प्रमुख खनालले विगतका विभिन्न सरकारका कार्यकाललाई हेर्दा राष्ट्रिय पुँजी, लगानी र उद्योग प्रतिष्ठानको संरक्षणमा एमाले नेतृत्वका सरकारहरूले महत्वपूर्ण काम गरेको जिकिर गरे । विशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकारले व्यवसायी र उद्योग क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा काम गरेको उनको भनाइ थियो । उनले भन्सार, उद्योग तथा राष्ट्रिय पुँजी संरक्षणसँग सम्बन्धित नीतिगत निर्णयहरू एमाले नेतृत्वका सरकारका पालामा भएको दाबी गर्दै व्यवसायीहरूले पनि त्यस्ता विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रिय पुँजीलाई संरक्षण गर्ने नीति एमालेले ल्याउँदै आएको छ’, उनले भने ।

संगठन विभाग प्रमुख खनालले आगामी दिनमा नेपाल उद्योग तथा व्यवसायी महासंघको संगठनलाई बाँकेका सबै गाउँपालिका र नगरपालिकासम्म विस्तार गर्नुपर्नेमा जोड दिए । स्थानीय तहसम्म संगठन विस्तार भए व्यवसायीका समस्या पहिचान तथा समाधानका लागि सहज हुने उनको भनाइ थियो ।

नजिकिँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै उनले व्यवसायीहरू राजनीतिक दल तथा विभिन्न सामाजिक सञ्जाल र संगठनसँग जोडिने भएकाले व्यवसायी संगठन र पार्टीबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । व्यवसायीहरू विशुद्ध व्यवसायी मात्र नभई समाजका विभिन्न तहसँग जोडिएका हुने भएकाले उनीहरूको भूमिका महत्वपूर्ण हुने खनालको भनाइ थियो । उनले पार्टीलाई सर्वोपरि मात्र मान्न नसकिने र पार्टीको भूमिका नै छैन भन्न पनि नसकिने स्पष्ट पार्दै व्यवसायीको पेसागत तथा नीतिगत हितका लागि पार्टी र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए ।

खनालले बाँकेमा महासंघको संगठन विस्तारका लागि योगदान गर्ने नेता तथा सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहसम्म संगठन गठन गर्न जिल्ला नेतृत्वलाई आग्रह गरे । ‘हरेक गाउँपालिका र नगरपालिकामा संगठन गठन गर्नुपर्छ’, उनले भने, ‘त्यसले आगामी निर्वाचनलगायतका विषयमा पनि सहकार्य गरेर अघि बढ्न सहज हुन्छ ।’

नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकालले नेपालगन्ज ऐतिहासिक पुरानो सहर भएपछि राष्ट्रिय स्तरमा प्रभावपार्न सक्ने क्षमता बन्न नसकेको बताए । ‘यसको बहस गरी उत्तर खोजेर सशक्त ढंगले बाँकेलाई देशमै आर्थिक रूपले बलियो बनाउने गरी योजना बनाएर अघि बढ्न आवश्यक छ’, उनले भने, ‘त्यसका नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा सबै राजनीतिक दल, जनप्रतिनिधिको सहभागिता आवश्यक छ ।’

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले नौबस्तामा रहेको जग्गा विवाद समाधान गरेको अवस्थामा संघीय सरकारले चालु आ.व.मा बजेटमा प्राथमिकता नदिएको उल्लेख गर्दै त्यसका लागि दबाब सिर्जना गर्न आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले उत्पादन वृद्धि तथा युवाहरूलाई उत्पादन, उद्योगसँग जोड्नका लागि प्रोत्साहन गर्ने नीति लिंदै विभिन्न खालका अनुदानका लागि बजेट व्यवस्था गरेको जानकारी दिए ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले खुला सीमाले व्यवसायी मारमा रहेको बताउँदै स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको बताए । ‘स्वदेशी अर्थतन्त्र बलियो बनाउन स्वदेशमै खरिद गरौं’, उनले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवि ओलीले जुनसुकै सरकार आएपनि समृद्धिको आधार तय हुने गरी काम गर्नुपर्ने बताए । ‘स्वदेशमै रोजगारी सिर्जना हुने आधारहरू तय गरिन आवश्यक छ’, उनले भने, ‘दक्ष जनशक्तिको उत्पादन गर्नुपर्छ ।’
नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेका इन्चार्ज भाष्कर काफ्लेले यसअघि राजनीतिक अस्थिरताले व्यवसायीका समस्या समाधान नभएको उल्लेख गर्दै अहिले स्थिर सरकार भएपनि व्यवसायीलाई धरपकड गरी त्रासमा राख्ने काम गरेको बताए ।
महासंघका जिल्ला, प्रदेशका नेताहरू, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला स्थित नेताहरू, उद्योगी, व्यवसायी लगायतको उपस्थिति रहेको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको नवनिर्वाचित टिम, नेपाल घरेलु तथा साना उद्योग महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्य लगायतलाई सम्मान समेत गरिएको थियो ।

Exit mobile version