नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएसँगै लुम्बिनी प्रदेशबाट केन्द्रीय नेतृत्वमा पुग्न खोज्ने नेताहरूको सक्रियता बढेको छ । सभापतिदेखि सहमहामन्त्रीसम्म आधा दर्जन नेताले पदाधिकारीमा दाबी प्रस्तुत गरेका छन् । केन्द्रीय सदस्यमा पनि एक दर्जनभन्दा बढी नेता उम्मेदवारीको तयारीमा छन् ।
काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरूको जमघट बढेसँगै लुम्बिनीका नेताहरूले पनि भेटघाट र छलफललाई तीव्र बनाएका छन् । उम्मेदवारी घोषणा गरिसकेका केही नेताले सचिवालय स्थापना गरेर प्रतिनिधिसँग भेटघाट थालेका छन् । कतिपय नेता भने आफ्नो समूह, प्यानल र पदको अन्तिम टुंगो लगाउने आन्तरिक छलफलमा छन् ।
लुम्बिनीबाट कांग्रेसको सर्वोच्च पद सभापतिमै बर्दियाका किशोरसिंह राठौरले दाबी गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा सहमहामन्त्री रहेका राठौरले यसपटक सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसमा गगन थापा सभापतिमा निर्विरोध हुने चर्चा चलिरहेका बेला राठौरको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उपसभापतिमा लुम्बिनीबाट दाङका दीपक गिरी र अर्घाखाँचीकी पुष्पा भुसाल मैदानमा देखिएका छन् । पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री गिरीले पार्टीको १५ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जा तथा सहभागितालाई सँगसँगै अघि बढाएर पार्टीलाई नयाँ गति दिने बताएका छन् ।
महामन्त्रीमा रोल्पा मूलघर भएका तथा हाल बाँकेमा रहेका अमरसिंह पुनले उम्मेदवारी घोषणा गरेका छन् । पुन अहिले लुम्बिनी प्रदेश कांग्रेसका सभापति हुन् । उनी सुरुदेखि नै गगन थापा पक्षमा खुलेर लाग्दै आएका छन् । विशेष महाधिवेशनको पक्षमा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
सहमहामन्त्रीमा दाङका योगेन्द्र चौधरीले पुनः सोही पदमा दोहोरिने तयारी गरेका छन् । कपिलवस्तुका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । शाह संसदीय दलका उपनेतासमेत हुन् । यससँगै लुम्बिनीबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्ने नेताको संख्या अझै बढ्ने देखिएको छ ।
नवलपरासीका नेता तथा पूर्वमन्त्री देवेन्द्रराज कँडेलले पनि पदाधिकारीमा उम्मेदवारी दिने बताएका छन् । तर, उनले कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने टुंगो भने सोमबार बिहानसम्म लाग्ने बताएका छन् ।
पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि पनि लुम्बिनीमा आकांक्षीको संख्या ठूलो छ । विशेषगरी दाङबाट केन्द्रीय सदस्यमा दाबी गर्ने नेताहरू धेरै देखिएका छन् । दाङबाट केशव आचार्य, प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’, प्रदेश सदस्य अनुराग खड्का तथा दाङ कांग्रेसका नेता कमलकिशोर घिमिरे र किरणकिशोर घिमिरेले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल र लोकगायक चन्द्र शर्माले पनि दाङबाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य जिल्लाको तुलनामा दाङबाट केन्द्रीय सदस्यका आकांक्षीको संख्या बढी देखिएको छ ।
कपिलवस्तुबाट पूर्वजिल्ला सभापति राजेश आचार्य, समशेर अली मिया र पूर्वसांसद अतहर कमाल केन्द्रीय सदस्यका आकांक्षी छन् । नवलपरासीबाट युवा प्रतिनिधि शिशिर सागर विकले उम्मेदवारी घोषणा गरेका छन् । बाँकेबाट मैकुलाल बाल्मिकी, कमला हमाल र रुपन्देहीबाट रिता केसी क्षेत्रीले पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धाको तयारी गरेका छन् । पाल्पाका हिमालदत्त श्रेष्ठ पनि केन्द्रीय सदस्यको दौडमा छन् ।
यद्यपि लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केही प्रभावशाली नेताको उम्मेदवारीबारे अझै स्पष्टता आएको छैन । नवलपरासीका विनोद चौधरी, रुपन्देहीका भरत शाह र गुल्मीका चन्द्र भण्डारीले कुन पदमा उम्मेदवारी दिने भन्ने खुलाएका छैनन् ।
काठमाडौंमा महाधिवेशनको राजनीतिक गतिविधि बढ्दै जाँदा लुम्बिनीका नेताहरूबीच पनि समूहगत समीकरण मिलाउने प्रयास भइरहेको छ । पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढे पनि अन्तिम प्यानल र पद बाँडफाँटको तस्वीर भने अझै पूर्ण रूपमा खुलेको छैन । त्यसैले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्दै जाँदा लुम्बिनीबाट कुन पदमा कति जना प्रतिस्पर्धामा उत्रिन्छन् भन्ने विषय अझै थप स्पष्ट हुने देखिएको छ ।
