नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ ।

चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सहुलियत बिक्री केन्द्रबाट सबै प्रकारका चामलमा प्रतिक्विन्टल पाँच सय रुपैयाँ छुट दिएर बिक्री भइरहेको कम्पनीका नेपालगन्ज शाखाका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार चाडपर्व अवधिभर एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखिएको छ । बिक्री केन्द्रबाट अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम जिरा मसिनो र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री भइरहेको छ ।

शुक्रबारसम्म अरुवा मोटा चामल ५० किलो, अरुवा मध्यम ४ दशमलव ७५ क्विन्टल, मध्यम सिल्की १ दशमलव ५० क्विन्टल, स्टिम जिरा मसिनो ६४ दशमलव ५० क्विन्टल र स्टिम जिरा फोर्टिफाइड पाँच क्विन्टल बिक्री भइसकेको घिमिरेले बताए ।

सहुलियतपछि अरुवा मोटा चामल प्रतिक्विन्टल पाँच हजार ६०० रुपैयाँ, अरुवा मध्यम पाँच हजार ८०० रुपैयाँ, मध्यम सिल्की पाँच हजार ९०० रुपैयाँ तथा स्टिम जिरा मसिनो र स्टिम जिरा फोर्टिफाइड चामल प्रतिक्विन्टल आठ हजार ५०० रुपैयाँमा बिक्री भइरहेको छ ।

Exit mobile version