कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य चेकजाँचका क्रममा भएको भनिएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न सामग्री सार्वजनिक भइरहेका बेला पत्रकार तथा पत्रकारितालाई समेत अनावश्यक रूपमा जोड्ने काम भएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघ बाँकेका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारिता सत्य, तथ्य, सन्तुलन र जिम्मेवारीमा आधारित पेशा भएकाले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न तथा घटनासँग जोडिएका व्यक्तिको गोपनीयता, मर्यादा र संवेदनशीलताको सम्मान गर्न आग्रह गरिएको छ ।

विशेषगरी युवती तथा संवेदनशील प्रकृतिका घटनामा पहिचान खुल्ने विवरण, तस्बिर वा भिडिओ सार्वजनिक गर्दा थप क्षति पुग्न सक्ने भएकाले सञ्चारमाध्यम र पत्रकारलाई विशेष सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ ।

महासंघले मिडियाका नाममा तथ्य पुष्टि नगरी भिडिओ सामग्री प्रसारण गर्ने, संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने तथा भ्यूज, फलोअर्स वा आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्ति पत्रकारिताको मर्यादासँग मेल नखाने जनाएको छ ।

यस्तो प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता र मर्यादामाथि प्रश्न उठाउने तथा पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाउने भएकाले सम्बन्धित सबैलाई जिम्मेवार र संयमित बन्न महासंघले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोस्ट वा प्रसारित भएको प्रत्येक सामग्री पत्रकार वा सञ्चारमाध्यमले तयार गरेको नहुने भन्दै महासंघले सामाजिक सञ्जालमा देखिएका सामग्रीकै आधारमा समग्र पत्रकारिता र पत्रकारलाई आरोपित गर्नु उचित नहुने स्पष्ट पारेको छ । कुनै व्यक्ति वा संस्थाबाट पत्रकार आचारसंहिता विपरीत कार्य भएको भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने महासंघको भनाइ छ ।

महासंघले घटनालाई सूक्ष्म रूपमा नियालिरहेको जनाउँदै पत्रकारिता र सञ्चारमाध्यमको नाम प्रयोग गरी आचारसंहिता तथा पत्रकारिताका आधारभूत मूल्यविपरीत गतिविधि भएको पाइए आवश्यक अध्ययन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाएको छ ।

महासंघका सदस्यबाटै अवाञ्छित गतिविधि भएको पुष्टि भएमा कुनै पनि बहानामा संरक्षण नगरी तथ्यका आधारमा आवश्यक संस्थागत पहल गरिने पनि विज्ञप्तिमा उल्लेख छ । साथै, कुनै व्यक्ति वा संस्थाको कमजोरीलाई आधार बनाएर समग्र पत्रकार, सञ्चारमाध्यम वा नेपाल पत्रकार महासंघलाई एउटै डालोमा राखेर नहेर्न महासंघले आग्रह गरेको छ ।

महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई भ्यूज र आर्थिक लाभभन्दा सत्य, तथ्य, सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल धर्मलाई प्राथमिकता दिन तथा सामाजिक सञ्जाल प्रयोगकर्ता र आम नागरिकलाई समेत अपुष्ट एवं संवेदनशील सामग्रीको प्रचार–प्रसार नगर्न अपील गरेको छ ।

Exit mobile version