नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

२ सयबढी खेलाडी सहभागी हुने

नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०८३ आयोजना हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लबले आगामी कार्तिक १४–१५ नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा देशभरबाट २ सयभन्दा बढी खेलाडी सहभागी हुने र करिब ६० वटा इभेन्ट सञ्चालन गर्ने गरि तयारी अगाडी बढाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको तयारीलाई तीव्र बनाउँदै क्लबले विभिन्न उपसमिति गठन गरेको जनाएको छ । तयारीकै क्रममा सोमबार नेपालगन्जमा क्लबको विशेष बैठक बस्यो । क्लब अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रतियोगितालाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीसहित उपसमिति गठन गर्ने निर्णय गरेको महासचिव कृष्ण अधिकारीले बताए ।

वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीका अनुसार, प्रतियोगितामा सहभागी खेलाडीको संख्या यस वर्ष अझ बढ्ने अपेक्षा गरिएको छ । ‘यो वर्ष देशभरका २ सयबढी खेलाडी सहभागी हुने प्रतियोगितामा करिब ६० वटा इभेन्टहरु हुने छन्,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘प्रतियोगितालाई करिब २ हजार दर्शकले प्रत्यक्ष रुपमा र सोसल मिडियाबाट हजारौ दर्शकले अबलोकन गर्ने छन् ।’

नेपालगन्जमा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले क्लबले प्रतियोगिता आयोजना गर्दै आएको हो । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक आयोजना भएपछि तेस्रो संस्करणको तयारी अघि बढाइएको क्लब अध्यक्ष न्यौपानेले जानकारी दिए ।

गर्मीको शहरका रूपमा परिचित नेपालगन्जमा पौडी खेलको सम्भावना ठूलो रहेको क्लबको बुझाइ छ । स्वास्थ्यका दृष्टिले पनि पौडी महत्वपूर्ण खेल भएकाले राष्ट्रियस्तरको प्रतियोगितालाई नेपालगन्जमा भव्य रूपमा सञ्चालन गर्ने तयारी गरिएको न्यौपानेले बताए ।

नेपालगन्ज स्वीमिङ क्लब नेपालगन्जका पौडी खेलप्रेमी युवाहरुको साझा संस्था हो । खेलकुदका माध्यमबाट समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यसहित नेपालगन्जका युवाहरुको पहलमा क्लब स्थापना भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेमा २५ कार्तिक २०८० मा दर्ता भएको क्लब गैरनाफामूलक संस्थाका रूपमा क्रियाशील छ ।

क्लबले पौडी खेलको विकास र विस्तारसँगै नयाँ तथा प्रतिभाशाली खेलाडीको खोजीलाई पनि आफ्नो अभियानको महत्वपूर्ण हिस्सा बनाएको छ । खेलाडी, प्रशिक्षक र खेलप्रेमीलाई थप उत्साहित बनाउने उद्देश्यले विद्यालयस्तरीय पहिलो राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा आयोजना गरिएको थियो । त्यसपछि बाँकेको कोहलपुरमा दोस्रो राष्ट्रिय पौडी प्रतियोगिता सम्पन्न भइसकेको छ ।

नेपालगन्जमा हुने तेस्रो प्रतियोगिताले पनि नयाँ खेलाडी पहिचान गर्ने अवसर दिने क्लबको विश्वास छ । वरिष्ठ उपाध्यक्ष अधिकारी भन्छन्, ‘विद्यालयस्तरबाटै खेलाडीको क्षमता पहिचान गर्न सके उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पु¥याउन सकिन्छ ।’

‘यस्ता प्रतियोगिताले विद्यार्थीहरूको भविष्यलाई नयाँ दिशा दिनुका साथै खेलकुदका क्षेत्रमा कैरियर बनाउनको लागि प्रेरित गर्न सक्छ,’ अधिकारीले भने, ‘पौडी प्रतियोगिताले विद्यार्थीहरुलाई समय व्यवस्थापनसंगै अनुशासित बन्न सिकाउछ ।’

उनका अनुसार, विद्यालयस्तरीय प्रतियोगिता विद्यार्थीका लागि खेलमा प्रतिस्पर्धा गर्ने अवसर मात्रै होइन, आत्मविश्वास बढाउने माध्यम पनि हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउन सक्ने उनले बताए ।

नेपालगन्जको खेलकुद इतिहाससँग पौडीको वर्तमान प्रयासलाई जोडेर हेर्नुपर्ने क्लब अध्यक्ष न्यौपानेको धारणा छ । दुई दशक अघिसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगितामा नेपालगन्जका खेलाडीको दबदबा रहेको थियो । त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको संख्या नै एक सयभन्दा बढी रहेको थियो ।

नेपालगन्ज खेलाडीहरुको शहरका रूपमा चिनिएको स्मरण गर्दै क्लबले खेलकुदका क्षेत्रमा अग्रजहरुले निर्माण गरेको सुनौलो इतिहास जोगाउन अहिलेका खेलाडी र खेलप्रेमीले थप मेहनत गर्नुपर्ने जनाएको छ । विद्यालयस्तरीय राष्ट्रिय पौडी प्रतियोगिताले नयाँ र प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्वपूर्ण अवसर दिने क्लबको विश्वास छ ।

क्लबले पौडी खेलाडीलाई क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कामलाई पनि निरन्तरता दिँदै आएको छ । खेलाडीलाई उत्साह र ऊर्जा थप्दै उल्लेखनीय उपलब्धि हासिल गराउने प्रयास भइरहेको महासचिव अधिकारीले बताए ।

प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका उपसमितिमा कोषाध्यक्ष ऋषिराम कँडेलको संयोजकत्वमा आर्थिक उपसमिति बनाइएको छ । त्यसमा सल्लाहकार संजय थापा, राजीव तरङ्गा, दिव्य बोथरा र कमल कार्की रहेका छन् ।

त्यस्तै महासचिव कृष्ण अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । समितिमा सल्लाहकार झलक गैरे र शंकर खनाल रहेका छन् । सल्लाहकार किशन गुरुङको संयोजकत्वमा विद्यालय समन्वय समिति गठन गरिएको छ । त्यस समितिमा सचिव विकास आचार्य र सदस्य चन्द्रराम चौधरी रहेका छन् ।

नेपालगन्जमा राष्ट्रियस्तरको पौडी प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबको नेतृत्वमा अध्यक्ष केशवराज न्यौपाने रहेका छन् । वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, उपाध्यक्ष डा. नितेश कुमार कनोडिया, महासचिव कृष्ण प्रसाद अधिकारी, सचिव विकास आचार्य र कोषाध्यक्ष ऋषिराम कँडेल रहेका छन् ।

क्लबका सदस्यमा अमृत प्रसाद श्रेष्ठ, जीवन शर्मा, चन्दराम चौधरी र हरिमाया गुरुङ रहेका छन् । सल्लाहकारमा किशन गुरुङ, संजय थापा, झलक गैरे र शंकर खनाल छन् ।

क्लबले तेस्रो संस्करणको प्रतियोगितालाई अघिल्ला दुई संस्करणभन्दा थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरेको छ । खेलाडीको सहभागिता, विद्यालयसँगको समन्वय, प्रचारप्रसार तथा आर्थिक व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएसँगै प्रतियोगिताको तयारीले गति लिएको आयोजकले जनाएको छ ।

पौडी खेलको शारीरिक र मानसिक स्वास्थ्यसँगको सम्बन्धलाई पनि क्लबले जोड दिएको छ । पौडी प्रशिक्षक चन्द्रराम चौधरीका अनुसार पौडी पूर्ण शारीरिक व्यायाम हो । यसले शरीरका सबै अंगलाई सक्रिय बनाउने उनले बताए ।

पौडी खेल्दा मांसपेशीको विकास हुनुका साथै मस्तिष्कको सक्रियता पनि बढ्ने चौधरीले बताए । उनका अनुसार, यसले मानसिक स्वास्थ्यमा समेत सुधार ल्याउन सहयोग गर्छ ।

Exit mobile version