जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

भारतबाट दसैँ मनाउन स्वदेश फर्किने नेपाली यात्रुको सहज, सुरक्षित र व्यवस्थित यात्राका लागि नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

चाडपर्वका बेला भारतबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किने भएकाले सीमावर्ती क्षेत्रमा हुनसक्ने ठगी, लुटपाटलगायतका घटनालाई नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिम पहिचान गरेर सुरक्षा योजना लागू गरिएको छ । भारतबाट फर्किने नेपालीले बाटोमा विभिन्न किसिमका समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नाकामै सहायता कक्ष सञ्चालन गरिएको उनले बताए ।

सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताए । उनका अनुसार भारतबाट फर्किने नेपालीलाई लक्षित गरी नेपालगन्ज र कोहलपुर बसपार्कमा समेत आजदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

सहायता कक्षमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिएको छ । यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रणका साथै आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Exit mobile version