लुम्बिनी कल्चर डान्स आइडल २०८३

नेपालगन्ज र खजुरा अडिसन सम्पन्न, ५२ जना अर्को चरणमा

नेपालगन्ज । लुम्बिनी कल्चर डान्स आइडल २०८३ को नेपालगन्ज र खजुरा अडिसन राउण्ड सम्पन्न भएको छ । मौलिक नेपाली कला, संस्कृति र नृत्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आइडलमा नेपालगन्ज र खजुरा दुई स्थानबाट गरी १११ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

नेपालगन्जमा सम्पन्न अडिसनमा ७४ जना सहभागी भएकामा ३६ जना प्रतिस्पर्धी अघिल्लो राउण्डका लागि छनोट भएका छन । यस्तै, खजुरामा भएको अडिसनमा ३७ जनाले सहभागिता जनाएकामा १६ जना अर्को चरणका लागि छनोट हुन सफल भए ।

यससँगै नेपालगन्ज र खजुरा अडिसनबाट गरी ५२ जना प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गरेका छन । कोहलपुरमा समेत अडिसन गर्ने आयोजकले योजना बनाएपनि पछिल्ला समयमा कोहलपुरका डान्सरहरुलाई नेपालगन्जमै बोलाएर अडिसन लिएको थियो ।

अघिल्लो राउण्डका लागि छनोट भएका प्रतिस्पर्धीहरूलाई असोज ३१ गते थप प्रतिस्पर्धा गर्न सहज होस भन्ने हेतुले आयोजकल कल्चर डान्सका कोरियोग्राफर तथा निर्देशकबाट विशेष वर्कसपसमेत सञ्चालन गरिने प्रतियोगिताका संयोजक मिलन गुरुङले जानकारी दिए ।

उनका अनुसार वर्कसपमार्फत सहभागीलाई नेपाली मौलिक तथा सांस्कृतिक नृत्यका विभिन्न पक्षबारे प्रशिक्षण दिइनेछ । प्रतियोगिताले लुम्बिनी प्रदेशमा रहेका कला, संस्कृति र नृत्य प्रतिभाको पहिचानसँगै उनीहरूको क्षमता विकासमा समेत सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।
मिडिया ल्याव प्रोडक्सन प्रा.लि.को आयोजनामा तथा बाँके कला केन्द्र समन्वयमा भइरहेको लुम्बिनी कल्चर डान्स आइडल २०८३ मा शुद्ध नेपाली कला तथा संस्कृतिमा आधारित नृत्यलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

Exit mobile version