आगामी आइतबारदेखि हिन्दुहरूको सबैभन्दा ठूलो पर्व दशैं सुरु हुँदैछ । दशैं सकिंदै गरेको केही समयमा नै दिपावली छठ पर्व भित्रिन्छ । पर्वका बेला धार्मिक गतिविधि बढी हुने गरेका छन् । पर्वका बेला अपराधिक घटनाहरू समेत हुने गरेका छन् । त्यसैलाई मध्य नजर बाँके प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागु गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले जानकारी दिएका छन् ।
बाँके प्रहरीले पर्वमा सुरक्षाको लागि प्रहरीको परिचालन, गस्ती, चेकजाँच बढाएको जानकारी दिएको छ । ‘जिल्लामा चेकजाँच बढाएका छौं, हेल्प डेस्क सञ्चालनमा ल्याएका छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राठौंरले भने, ‘सुरक्षाका लागि योजनाबद्ध काम भैरहेको छ ।’ ‘पर्व बीच कसैलाई कुनै समस्या भए तत्काल प्रहरीलाई सम्पर्क गरे सहयोग पुर्याउने व्यवस्थापन मिलाएका छौ’, उनले भने, ‘भीडभाड हुने क्षेत्रमा निगरानी पनि बढाएका छौं, ट्राफिक प्रहरीसँग समन्वय पनि गरेका छौं ।’
विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।
पिकेट, हाइवे चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटिभी निगरानी, स्कटिङ लगायतका लागि प्रहरी टिम परिचालन भएको बताइएको छ ।
‘भारतबाट पर्व मनाउन आउनेहरूलाई सुरक्षित तर्फ गन्तव्य तर्फ लागुन् भनेर सुरक्षा निगरानी बढाइएको छ’, प्रहरी प्रवक्ता राठौंरले भने ।
पर्वका बेला नागरिक आफै पनि सचेत हुनुपर्ने र असुरक्षित महसुस गरे तत्काल प्रहरीलाई खबर गर्नुपर्ने प्रहरी नायब उपरीक्षक राठौंरले बताएका छन् । उनले पर्व मनाउन तथा घुमफिरका लागि घर छाडेर जाँदा सामाजिक सञ्चालनमा तत्कालै फोटो तथा जानकारी पोष्ट नगर्न सुझाव दिन्छन् । ‘गलत नियत भएका मानिसले थाहा पाउँदा चोरीका घटना हुनसक्छन्’, उनी भन्छन्, ‘त्यसैले घरको ताला, चाबी बलियो लगाउने, पर्खाल बनाउने, सकेसम्म सिसि क्यामेरा जडान गर्नु उचित हुन्छ ।’ घर छाडेर जाँदा छिमेकीलाई निगरानी गर्न भनेर जाँदा राम्रो हुने उनी बताउँछन् ।
