महामन्त्रीमा ११ र उपसभापतिमा १५ उम्मेदवार
राधानी काठमाडौमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित प्रमुख पदमा उम्मेदवारी दर्तासँगै नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ । मंगलबार भएको मनोनयनमा सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि विहीवार मतदान हुँदै छ । राष्ट्रियसभा गृहमा जारी मनोनयन प्रक्रियामा सभापतिसहित वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीका विभिन्न क्लस्टरमा उम्मेदवारी परेको हो ।
सभापति थापाले मंगलबार मनोनयन दर्ता गरे । उनी गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए । यसपटक पनि उनले सभापति पदका लागि उम्मेदवारी दिएका हुन् ।
राठौरले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले यसअघि नै कोही पनि निर्विकल्प नरहेको भन्दै गगन थापाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । खड्गीले पनि सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।
मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा लामो समय पार्टीमा योगदान गरेका नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले उम्मेदवारीबारे पुनर्विचार गर्नसमेत आग्रह गरेका छन् ।
थापाले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई विभिन्न कमिटीमा समेटेर अघि बढाउने बताए । नेतृत्व व्यवस्थापनमा समस्या नआओस् भन्ने उद्देश्यले उम्मेदवारीका विषयमा पुनर्विचार गर्न उनले आग्रह गरेका हुन् ।
वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । मंगलबारको मनोनयनमा उक्त पदका लागि शर्मा एक्लैले उम्मेदवारी दिएका हुन् । अरूको उम्मेदवारी नपरेकाले उनी निर्विरोध निर्वाचित हुनेछन् । यद्धपि घोषणा भइसकेको छैन ।
शर्मा गत वर्ष पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका थिए । त्यसअघि उनी कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।
महिला उपसभापति पदमा पनि पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको छ । भुसाल पनि गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनबाट उपसभापतिमा चयन भएकी थिइन् । यो पदमा पनि अन्य उम्मेदवारी नपरेमा भुसाल निर्विरोध निर्वाचित हुनेछिन् ।
खुला उपसभापति पदमा भने नौ जनाको उम्मेदवारी परेको छ । डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले खुलातर्फबाट उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
समावेशी उपसभापति पदमा पाँच जनाको प्रतिस्पर्धा हुने भएको छ । जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उक्त क्लस्टरमा उम्मेदवारी दिएका छन् ।
मंगलबार नै रञ्जित कर्ण र सीता गुरुङले समावेशी उपसभापतिमा मनोनयन दर्ता गराएका हुन् । यसअघि यही पदमा जीवन परियार, विनोद चौधरी र फर्मुल्लाह मन्सुरले उम्मेदवारी दर्ता गराइसकेका थिए । समावेशी उपसभापति क्लस्टरबाट एक जना उपसभापति निर्वाचित हुने व्यवस्था गरिएको छ ।
महामन्त्री पदमा पनि प्रतिस्पर्धा बढेको छ । कांग्रेसका तीन महामन्त्रीमध्ये खुलातर्फ आठ जना र महिलातर्फ तीन जनाले उम्मेदवारी दिएका छन् ।
खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् ।
डा. सन्तोष उपाध्यायले मंगलबार राष्ट्रियसभा गृहमा भइरहेको मनोनयनका क्रममा खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै उदयशमशेर राणा, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिलकुमार शर्मा, प्रदीप पौडेल, अमरसिंह पुन र गुरुराज घिमिरेले पनि खुलातर्फ उम्मेदवारी दिएका छन् ।
महामन्त्रीका तीन पदमध्ये एक पद महिलाका लागि सुरक्षित हुने गरी कांग्रेसले विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार महिला महामन्त्री पदमा तीन महिला नेताबीच प्रतिस्पर्धा हुने भएको छ ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनालले उम्मेदवारी दिएका छन् । डा. डिला संग्रौला सहमहामन्त्री हुन् । महालक्ष्मी उपाध्याय ‘डिना’ पूर्वसहमहामन्त्री हुन् ।
