सामाजिक अभियानमा जोडिदै रोटरी
समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिलाई आफ्नो अभियानसँग जोड्दै रोटरी क्लब अफ सेन्ट्रल बाँकेले मानार्थ सदस्यताको अवधारणा अघि सारेको छ । क्लबले मानार्थ सदस्यतालाई सम्मानमा सीमित नराखी सामाजिक योगदानको कदर र सेवामूलक अभियान विस्तार गर्ने माध्यमका रूपमा अघि बढाएको हो ।
क्लब अध्यक्ष ईश्वरीजंग मल्लका अनुसार, बोर्डको निर्णयअनुसार मानार्थ सदस्यको संख्या बढीमा ५ जनासम्म राख्ने व्यवस्था गरिएको छ । सोही निर्णय अनुसार पूर्व सांसद डा.धवल शमशेर राणा, वरिष्ठ पत्रकार झलक गैरे, अस्ट्रेलियाका जेसन बुथ र हरित अभियन्ता हेमन्तराज काफ्लेलाई मानार्थ सदस्य बनाइएको क्लबले जनाएको छ । बुथ रोटरी क्लब अफ अस्ट्रेलियासँग आबद्ध छन् ।
‘ समुदायमा विशिष्ट तथा उल्लेखनीय सेवा पु¥याएका, मानवीय वा सामाजिक सेवाप्रति प्रतिबद्ध रहेका तथा रोटरीका उद्देश्य र आदर्श प्रवद्र्धनमा योगदान गरेका व्यक्तिलाई मानार्थ सदस्यता दिन सकिनेछ,’ अध्यक्ष मल्लले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, सक्रिय सदस्यले योग्य व्यक्तिको नाम क्लब बोर्डमा लिखित रूपमा सिफारिस गर्न सक्नेछन् । त्यसपछि बोर्डले प्रस्तावित व्यक्तिको सामाजिक तथा सामुदायिक योगदान र रोटरीसँगको सम्बन्ध मूल्यांकन गरेर सदस्यता स्वीकृत गर्ने व्यवस्था छ ।
मानार्थ सदस्यले क्लबका बैठक, फेलोसिप र उपयुक्त सेवामूलक गतिविधिमा सहभागी हुन पाउनेछन् । ‘मानार्थ सदस्यताको सम्बन्ध अर्थपूर्ण र रोटरीका उद्देश्यसँग सुसंगत रहे नरहेको क्लब बोर्डले समय–समयमा समीक्षा गर्न सक्नेछ,’ रोटरी लिडर सरोज रेग्मी भन्छन्, ‘क्लबले सबै मानार्थ सदस्यको अभिलेख राख्ने तथा आवश्यकताअनुसार मानार्थ सदस्यता प्रमाणपत्र वा अन्य सम्मान प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।’
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको सामाजिक अभियान भने मानार्थ सदस्यतामा मात्र सीमित छैन । रोटरी वर्ष २०२६–२७ मा क्लबले वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, युवा सशक्तीकरण र विपद् व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको छ ।
क्लबका अनुसार, कैलालीको कटासेमा आरसीसी चेतना सामुदायिक विकास मञ्च र स्थानीय सामुदायिक वनसँगको सहकार्यमा करिब ५ हजार बिरुवा रोपिएको छ । ‘टीकापुर–खक्रौला सडकमा करिब १५० बिरुवा रोपिएको छ,’ नेपालगन्जबाट पुगेर गेरुवा–२ टिकुलीगढ, बर्दियामा सामुदायिक वनसँगको सहकार्यमा वृक्षरोपण गरिएको जानकारी दिंदै अध्यक्ष मल्लले दैनिक नेपालगन्जसँग भने । क्लबले नेपालगन्जको आइसीपी र भन्सार परिसरमा पनि हरित अभियान सञ्चालन गरिएको जनाएको छ ।
अध्यक्ष मल्लका अनुसार, त्रिभुवन माध्यमिक विद्यालय, भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय सन्तकुटी खजुरा र क्लबको अपनाइएको विद्यालय बागेश्वरी माध्यमिक विद्यालय गाभरमा पनि वृक्षरोपण गरिएको छ ।
‘जनता नमुना माध्यमिक विद्यालय खजुरामा इन्टरयाक्ट क्लब र रोटरी कम्युनिटी कप्र्स गठनसँगै करिब ४८० बिरुवा रोपिएको छ,’ अध्यक्ष मल्लले भने, ‘बागेश्वरी माध्यमिक विद्यालय गाभरमा इन्टरयाक्ट क्लब गठन र तीन वर्षीय विद्यालय अपनत्व कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनका अनुसार, सो विद्यालयमा बायो–स्यान्ड वाटर फिल्टर हस्तान्तरण गरिएको छ, जसबाट करिब ५०० विद्यार्थी तथा शिक्षक लाभान्वित भएका छन् ।
क्लबका अनुसार, स्वास्थ्यतर्फ कैलालीको जानकी–९ अमरावतीस्थित जनता माध्यमिक विद्यालयमा करिब ४०० जनाको निःशुल्क कान परीक्षण तथा स्वास्थ्य परामर्श गरिएको छ । चेतना सामुदायिक विकास मञ्च तथा बीएन अस्पताल र बीएन कम्युनिटी इयर केयरको सहकार्यमा भएको शिविरमा आवश्यक उपचारसम्बन्धी सुझाव र औषधिसमेत उपलब्ध गराइएको थियो ।
टीकापुरमा करिब २५ निर्माण व्यवसायीलाई वित्तीय तथा कानुनी सचेतना दिने उद्देश्यले कार्यशाला गरिएको छ । बीबीआरबी एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सको प्राविधिक सहजीकरणमा कर, कर अनुपालन, लेखा तथा अभिलेख व्यवस्थापन, भ्याट, वित्तीय व्यवस्थापन र कानुनी तथा नियामकीय दायित्वबारे जानकारी दिइएको थियो ।
विपद् प्रभावित समुदायका लागि पनि क्लबले सहयोग गरेको जनाएको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ मार्फत जाजरकोट विपद् राहत कोष २०२६ मा करिब २ लाख ६० हजार रुपैयाँ र रसुवा विपद् सहयोग २०२६ मा करिब १ लाख ५ हजार रुपैयाँ सहयोग गरिएको छ । दुवैमा गरी कुल करिब ३ लाख ६० हजार ५ रुपैयाँ सहयोग गरिएको क्लबले जनाएको छ ।
वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, सुरक्षित खानेपानी, वित्तीय साक्षरता, सामुदायिक साझेदारी र विपद् व्यवस्थापनलाई जोड दिएको क्लबले यस्ता अभियानमार्फत दिगो सामुदायिक विकासलाई प्राथमिकतामा राखेको अध्यक्ष मल्लले बताए ।
