बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले अदालतले न्यायलाई सर्वोपरि लक्ष्य मान्दै पीडितको न्याय पाउने अधिकार र प्रतिवादीको आधारभूत मानव अधिकारलाई ध्यानमा राखी निर्भिकतापूर्वक र गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउनुभएको छ।
बाँके जिल्ला अदालत बार एशोशिएसनद्वारा हालै सरुवा भई आएका न्यायाधीशहरूको सम्मानमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरूलाई सुम्पिएको पदीय जिम्मेवारीलाई इमानदारीपूर्वक र सफलताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिम्मेवारी सम्हाल्ने क्रममा ४,३१२ थान मुद्दा रहेकोमा हाल बढेर ५,४९१ थान मुद्दा पुगेको जानकारी गराउँदै न्यायाधीश गौतमले अदालतले कार्यभार सम्हालेको एक महिनाको अवधिमै १३०० थान अर्थात २४ प्रतिशत मुद्दा फर्छ्यौट गरिसकेको र यसले सेवाग्राहीलाई न्यायको प्रत्यक्ष अनुभूति गराउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बाँके जिल्ला अदालतमा सरुवा भई आउनुभएका न्यायाधीशहरू विष्णुप्रसाद गौतम, शिललाल पाण्डेय, श्याम बिहारी मौर्य, विष्णु प्रसाद रेग्मी, जीवन कुमार भण्डारी, नारायण सापकोटा, याम बहादुर बानियाँ तथा विगत एक वर्षदेखि कार्यरत न्यायाधीश इन्दिरा शर्मालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै, उपस्थित सबै न्यायाधीशहरूले न्यायिक निष्ठा र मर्यादालाई सधैं उच्च राखी पदीय उत्तरदायित्व पूरा गर्ने प्रण गर्नुभएको छ।
कार्यक्रममा मानव अधिकारकर्मी तथा अधिवक्ता वसन्त गौतमले अदालतले सक्षम र गुणस्तरीय सेवा प्रदान गरी न्यायका उपभोक्तालाई छिटोछरितो न्यायको प्रत्याभूति दिलाउनुपर्नेमा विशेष जोड दिनुभयो।
बाँके जिल्ला बार एशोशिएसनका अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू श्यामकुमार गौतम, भोला सिंह हमाल, नेपाल बारका पूर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की तथा नेपालगञ्ज उच्च बारका अध्यक्ष अधिवक्ता पवन कुमार गुप्ता लगायतले ‘बार र बेन्च’ एकअर्काका परिपूरक भएकाले आपसी समन्वय र सहकार्यबाट मात्रै प्रभावकारी न्याय सम्पादन हुन सक्ने विचार व्यक्त गर्नुभयो।
न्यायको खोजीमा अदालत प्रवेश गर्ने कुनै पनि व्यक्ति अन्यायमा पर्न नदिन अदालतले छिटो, छरितो र न्यायप्रेमी सेवाको प्रत्याभूति दिलाउनुपर्नेमा उहाँहरूको जोड थियो। जिल्ला बारका उपाध्यक्ष जय प्रसाद पौडेलको स्वागत मन्तव्य र अध्यक्ष पुनम श्रेष्ठको समापन मन्तव्यसँगै सम्पन्न भएको सो कार्यक्रमले न्यायका उपभोक्तालाई पहुँचयोग्य न्याय प्रदान गर्न बार र बेन्चबीचको सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
