बुधबार परेको हावाहुरीसहितको वर्षाका कारण बाँकेका विभिन्न क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ। पाकेर स्याहार्ने तयारीमा रहेको धान वर्षाले ढलाएपछि किसानलाई समस्या भएको छ।
विशेषगरी राप्ती सोनारी गाउँपालिकामा बीउ धानमा ठूलो क्षति पुगेको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए। उनका अनुसार सहकारीमार्फत किसानले करिब १५० बिघा क्षेत्रफलमा लगाएको बीउ धान वर्षाका कारण क्षतिग्रस्त भएको छ।
धान स्याहार्ने बेलामै वर्षाले क्षति पुर्याएपछि आगामी वर्षका लागि बीउ धानको अभाव हुन सक्ने वलीले बताए। सहकारीले किसानलाई बीउ उपलब्ध गराउँदै आएको र किसानले उत्पादन गरेको बीउ धान सहकारीलाई बिक्री गर्ने गरेका छन्।
यो वर्ष पर्याप्त वर्षा भएका कारण धान उत्पादन राम्रो भए पनि भित्र्याउने समयमा आएको वर्षाले क्षति पुर्याएको वलीको भनाइ छ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने अवस्थामा रहेको धानमा वर्षाले ठूलो क्षति पुर्याएको बताइन्। जिल्लाका विभिन्न स्थानबाट धानबालीमा क्षति पुगेको जानकारी आए पनि क्षतिको यकिन विवरण सङ्कलन भइनसकेको उनले जानकारी दिइन्।
बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान खेती हुने गरेको छ। चालु वर्षमा भने ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
