हिन्दुहरूको महान् पर्व विजयादशमी नजिकिँदै गर्दा विगतका वर्षमा सीमावर्ती भारतीय बजार रूपैडिहामा देखिने नेपाली उपभोक्ताको भीड यसपटक उल्लेख्य रूपमा घटेको छ । पर्वको किनमेलका लागि नेपालगन्जसहित आसपासका क्षेत्रबाट ठूलो संख्यामा रूपैडिहा पुग्ने नेपाली ग्राहकको संख्या यसपटक विगतको तुलनामा निकै कम देखिएको सीमापारी पुगेर फर्किएका उपभोक्ताले बताएका छन् ।
विगतका वर्षमा दशैं–तिहारको समयमा रूपैडिहा बजार नेपाली ग्राहकले भरिभराउ हुने गरेको थियो । नेपालगन्ज नाकाबाट दैनिक हजारौं नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने गरेका थिए । तर, यसपटक भने मुख्य नाकामा गरिएको कडाइ, दुवैतर्फको चेकजाँच तथा खरिद गरिएका सामान नेपाल ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्थाका कारण सीमापारी जाने नेपालीको आकर्षण घटेको बताइएको छ ।
गत वैशाखदेखि नेपालगन्ज भन्सार नाकाबाट सय रूपैयाँभन्दा बढी मूल्यका सामान बिना भन्सार नेपाल भित्र्याउन रोक लगाइएको थियो । सीमावर्ती क्षेत्रका बासिन्दा तथा व्यवसायीबाट असन्तुष्टि बढेपछि सरकारले उक्त सीमा बढाएर पाँच सय रूपैयाँ पु¥याएको छ । पाँच सय रूपैयाँभन्दा बढी मूल्यका सामान भन्सार प्रक्रिया पूरा गरेर मात्र नेपाल ल्याउन पाउने व्यवस्थाले सीमापारी हुने व्यक्तिगत खरिददारी प्रभावित भएको उपभोक्ताको भनाइ छ ।
रूपैडिहा जान छाड्नुको कारणबारे नेपालगन्जकी सुजिता अधिकारी भन्छिन्, “दुवैतर्फ चेकजाँच र सास्ती व्यहोर्नुपर्छ । पाँच सयभन्दा बढीको सामान भन्सार नगरी ल्याउन दिँदैनन् । केही बचत होला भनेर जाने हो, भन्सार नै गर्नुपर्ने हो भने किन जाने ?” उनका अनुसार पहिले नेपालमा भन्दा केही सस्तो मूल्यमा सामान पाइने भएकाले सीमापारी किनमेल गर्ने गरिएको भए पनि अहिले चेकजाँच, समय र भन्सार प्रक्रियाका कारण सीमापारी गएर सामान खरिद गर्ने आकर्षण घटेको हो ।
सीमापारी किनमेल गर्न जाने नेपालीको संख्या घटे पनि त्यसको प्रत्यक्ष लाभ नेपालगन्जका स्थानीय व्यवसायीले अपेक्षाअनुसार लिन नसकेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवि ओली बताउँछन् । अध्यक्ष ओलीका अनुसार सीमापारी जाने उपभोक्ताको संख्या घटेको अनुपातमा सीमावारी बजारको व्यापार भने बढेको छैन ।
‘भन्सार कडाइ गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, ओलीले भने, ‘तुलनात्मक हिसाबले सीमापारी खरिद गर्न जाने घटेको छ । तर, त्यो अनुपातमा सीमावारी बजारमा खरिददारी बढेको छैन । स्थानीय ब्यापार केही बढेको छ, तर मानिससँग पैसा नहुँदा पनि खरिददारी नबढेको हुनसक्छ ।’ उनका अनुसार, तस्करी पनि विगतको तुलनामा घटेको व्यवसायीको अनुमान छ । यद्यपि तस्करी औपचारिक तथ्यांकमा नआउने भएकाले यसको वास्तविक अवस्था यकिन गर्न कठिन रहेको उनी बताउँछन् । ‘तस्करी पहिलेको तुलनामा फरक छ । पहिलेजस्तो अहिले छैन भन्ने मेरो बुझाइ हो’, ओलीले भने, ‘तर तस्करी ‘अनसिन’ हुने भएकाले तथ्यांकमा भन्न सकिँदैन । महसुस भने भएको छ ।”
रूपैडिहा बजार पुगेर फर्किएका नेपाली उपभोक्ताले पनि यसपटक विगतका वर्षको तुलनामा बजारमा नेपाली ग्राहकको उपस्थिति निकै कम रहेको बताएका छन् । रूपैडिहाबाट खरिददारी गरी फर्किएका विपीन गुप्ताका अनुसार अघिल्ला वर्षमा दशैंको समयमा रूपैडिहा बजारमा नेपाली ग्राहकको बाक्लो भीड हुने गरे पनि यसपटक त्यस्तो दृश्य देखिएन । ‘अघिल्लो वर्ष पर्वको समयमा जस्तो घुइँचो यसपटक देखिएन’, उनले भने, ‘पसलमा नेपाली ग्राहकको भीड पनि पहिलेको जस्तो छैन । पसलमा काम गर्ने कर्मचारीसमेत अघिल्ला वर्षको तुलनामा कम देखिन्थे ।’ उनका अनुसार नेपाली ग्राहकको संख्या घट्दा रूपैडिहाको व्यापारमा समेत त्यसको प्रभाव परेको देखिन्छ ।
त्यस्तै, रूपैडिहा पुगेर फर्किएका रमेश चौधरीले भारतीय बजारमा पनि सामानको मूल्य अघिल्लो वर्षको तुलनामा बढेको बताए । उनका अनुसार कपडा तथा खाद्य सामग्रीको मूल्य गत वर्षभन्दा महँगो पाइएको छ । ‘रूपैडिहा गएपछि सबै सामान सस्तो पाइन्छ भन्ने अवस्था रहेन’, चौधरीले भने, ‘कपडा र खाद्य सामग्रीको मूल्य पनि गत वर्षभन्दा बढेको पाइयो ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओलीले सीमामा गरिएको कडाइलाई मुख्य नाकामा मात्र सीमित नगरी खुला सीमाका कारण सम्भावित अनौपचारिक कारोबार हुने भित्री नाकामा समेत निगरानी बढाउनुपर्ने बताएका छन् । ‘मुख्य नाकामा कडाइ भए पनि खुला सीमा रहेकाले भित्री नाकाबाट तस्करी हुनसक्छ’, उनले भने, ‘त्यसैले भित्री नाकामा पनि निगरानी कडाइ गर्नुपर्छ ।’ उनले हालै काठमाडौं पुगेर नेपालगन्जका विभिन्न व्यावसायिक तथा पूर्वाधारसम्बन्धी विषय उठाएको जानकारी दिँदै नेपालगन्ज भन्सारको जमुनाह नाकामा रहेको स्क्यानर मेसिनबिग्रिएको विषयसमेत सम्बन्धित निकायमा राखेको बताए । स्क्यानर मेसिन सञ्चालनमा नहुँदा भन्सार जाँचपास प्रक्रियामा थप सास्ती हुने गरेको व्यवसायीको गुनासो छ । यस विषयमा उद्योग तथा वाणिज्य र उपभोक्ता हित संरक्षणसम्बन्धी संसदीय समितिले लिखित निर्देशनसमेत सरोकारवालालाई दिएको ओलीले जानकारी दिए ।
हालै व्यवसायीहरूसँगको एक कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरले स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय उत्पादन तथा स्थानीय बजारबाटै सामान खरिद गर्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताएका थिए । खुला सीमाका कारण भारतीय बजारबाट ठूलो मात्रामा सामान नेपाल भित्रिँदा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय व्यवसायमा पर्ने उनको धारणा थियो । स्थानीय उत्पादनको प्रवद्र्धन र स्वदेशी बजारमा उपभोक्ताको आकर्षण बढाउन सके मात्र स्थानीय व्यवसाय तथा अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने उनको भनाइ थियो ।
स्थानीय व्यवसायीका अनुसार, उपभोक्ताको क्रयशक्ति, वस्तुको मूल्य, स्थानीय बजारमा उपलब्धता तथा सीमापारीको मूल्यबीचको अन्तरले समेत खरिददारीको प्रवृत्ति निर्धारण गर्छ । त्यसैले सीमा व्यवस्थापनसँगै स्थानीय बजारलाई प्रतिस्पर्धी, सहज र उपभोक्तामैत्री बनाउनुपर्ने आवश्यकता छ ।
बिग्रिएको विषयसमेत सम्बन्धित निकायमा राखेको बताए । स्क्यानर मेसिन सञ्चालनमा नहुँदा भन्सार जाँचपास प्रक्रियामा थप सास्ती हुने गरेको व्यवसायीको गुनासो छ । यस विषयमा उद्योग तथा वाणिज्य र उपभोक्ता हित संरक्षणसम्बन्धी संसदीय समितिले लिखित निर्देशनसमेत सरोकारवालालाई दिएको ओलीले जानकारी दिए ।
हालै व्यवसायीहरूसँगको एक कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरले स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय उत्पादन तथा स्थानीय बजारबाटै सामान खरिद गर्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताएका थिए । खुला सीमाका कारण भारतीय बजारबाट ठूलो मात्रामा सामान नेपाल भित्रिँदा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय व्यवसायमा पर्ने उनको धारणा थियो । स्थानीय उत्पादनको प्रवद्र्धन र स्वदेशी बजारमा उपभोक्ताको आकर्षण बढाउन सके मात्र स्थानीय व्यवसाय तथा अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने उनको भनाइ थियो ।
स्थानीय व्यवसायीका अनुसार, उपभोक्ताको क्रयशक्ति, वस्तुको मूल्य, स्थानीय बजारमा उपलब्धता तथा सीमापारीको मूल्यबीचको अन्तरले समेत खरिददारीको प्रवृत्ति निर्धारण गर्छ । त्यसैले सीमा व्यवस्थापनसँगै स्थानीय बजारलाई प्रतिस्पर्धी, सहज र उपभोक्तामैत्री बनाउनुपर्ने आवश्यकता छ ।
यस्तो, छ राजश्व असुली
गत बैशाख महिनामा भन्सारमा कडाई गरिएपछि राजश्व संकलन वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयको दुई आर्थिक बर्षको बैशाखदेखि साउनसम्मको तथ्यांक हेर्ने हो भने त्यसअघिको आर्थिक बर्ष भन्दा बढी राजश्व संकलन भएको देखिन्छ ।
आर्थिक बर्ष २०८२/०८३ को बैशाखमा १ अर्ब ८२ करोड ९५ लाख ३१ हजार रूपैयाँ अर्थात् सो महिनाको लक्ष्यको ८४.७६ प्रतिशत राजश्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयले त्यसअघिको आर्थिक बर्ष २०८१÷०८२ को बैशाखमा भने १ अर्ब ८१ करोड ३९ लाख ५७ हजार अर्थात् सोही महिनाको लक्ष्यको ७७.७२ प्रतिशत राजश्व असुली गरेको थियो ।
त्यस्तै, २०८३ जेठमा १ अर्ब ८३ करोड १५ लाख ८१ हजार र २०८२ जेठमा १ अर्ब ८२ करोड ८८ लाख १२ हजार, २०८३ असारमा १ अर्ब ५६ करोड २७ लाख ५६ हजार र २०८२ असारमा १ अर्ब ९९ करोड ५८ लाख ८८ हजार रूपैयाँ राजश्व संकलन भएको थियो ।
चालु आर्थिक बर्ष २०८३÷०८४ को साउनमा १ अर्ब ६१ करोड १७ लाख ७३ हजार अर्थात् मासिक लक्ष्यको ८७.८७ प्रतिशत राजश्व संकलन गरेको नेपालगन्ज भन्सारले गत बर्ष २०८२ साउनमा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार अर्थात् उक्त महिनाको लक्ष्यको ७४.१४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो । चालु आ.व.को भाद्रसम्म ३ अर्ब ३४ करोड ७५ लाख ४७ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०८२÷०८३ मा २० अर्ब ११ करोड ५५ लाख १ हजार र आर्थिक बर्ष २०८१÷०८२ मा २० अर्ब २८ करोड ७२ लाख राजश्व असुल गरेको थियो ।
