नर्सिङ कलेज सञ्चालनको योजना
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको विकास समितिले अस्पतालको सेवा र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने भएको छ । नवनियुक्त अध्यक्ष भीमकान्त लामिछानेले अस्पतालको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका हुन् ।
अध्यक्ष लामिछानेसहित नवनियुक्त विज्ञ सदस्यद्वय डा. मधु न्यौपाने र डा. संजय पाण्डे बिहीबार अस्पताल पुगेका थिए । उनीहरुलाई अस्पताल प्रशासनले स्वागत गरेको हो । अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निरज भट्टराईले अध्यक्ष लामिछाने तथा सदस्यद्वय न्यौपाने र पाण्डेलाई खादामाला लगाएर स्वागत गरे ।
स्वागत कार्यक्रममा अध्यक्ष लामिछानेले अस्पतालको विकासका लागि आफूले अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाएको बताए । अस्पताल प्रशासनसँग समन्वय र सहकार्य गरेर ती योजना कार्यान्वयन गर्ने उनको भनाइ थियो ।
‘अस्पतालको विकासका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्नेछु,’ लामिछानेले भने, ‘अस्पताल प्रशासनसँग समन्वय र सहकार्य गरेर नै कार्ययोजनाहरु कार्यान्वयन गरिनेछ ।’
उनले विधिविधानले अनुमति दिए खजुरा क्यान्सर अस्पतालमै नर्सिङ कलेज सञ्चालन गर्ने आफ्नो इच्छा रहेको पनि बताए । अस्पतालमा उपचार सेवासँगै दक्ष जनशक्ति उत्पादनको आधार तयार गर्न नर्सिङ कलेज उपयोगी हुने उनको धारणा थियो ।
नवनियुक्त विज्ञ सदस्य डा. मधु न्यौपानेले पनि अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । आफूहरुले केही गर्ने लक्ष्यसहित मन्त्रालयमा लिखित योजना पेश गरेर प्रतिस्पर्धाबाट नियुक्ति पाएको उनले बताए ।
‘अस्पतालका लागि केही गर्ने लक्ष्यका साथ हामीले मन्त्रालयमा लिखित योजना पेश गरेका हौँ,’ न्यौपानेले भने, ‘सबैको सहकार्यमा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन लाग्नेछौँ ।’
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निरज भट्टराईले विकास समितिको पूर्णतासँगै अस्पतालको प्रगतिले थप गति लिने विश्वास व्यक्त गरे । अस्पताल प्रशासनले उपलब्ध स्रोत र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा सञ्चालन गरिरहेको उनले बताए ।
उनका अनुसार अस्पतालको समग्र विकासका लागि प्रशासनले इमान्दारीपूर्वक काम गर्दै आएको छ । थप पूर्वाधार निर्माणका लागि मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन पठाइएको र थप भवन निर्माणका लागि आश्वासनसमेत प्राप्त भएको उनले जानकारी दिए ।
आन्तरिक व्यवस्थापनलाई चुस्त बनाइएको उल्लेख गर्दै भट्टराईले सीमित जनशक्तिबाट अस्पतालको कार्यसम्पादन भइरहेको बताए । संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृति लगायतका विषयमा नयाँ विकास समितिबाट थप पहलकदमी हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
अस्पतालका संस्थापक अध्यक्ष किस्मत कक्षपतिले अस्पताल स्थापनाको पृष्ठभूमि स्मरण गरे । उनले क्यान्सर अस्पताल जनताले निर्माण गरेर सरकारलाई सञ्चालनका लागि दिएको पहिलो अस्पताल भएको बताए ।
कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्षद्वय टेकेन्द्र मल्ल र किस्मत कक्षपतिलाई सम्मान गरिएको थियो । नवनियुक्त अध्यक्ष लामिछानेले बिहीबार नै अस्पताल विकास समितिको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका छन् ।
