विपद्का बेला नसर्ने रोगको जोखिम झनै बढ्न सक्ने भन्दै बाँकेका तीन विपद् प्रभावित पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई त्यसको पहिचान, रोकथाम र व्यवस्थापनबारे अभिमुखीकरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा छुट्टाछुट्टै एक–एक दिन कार्यक्रम सञ्चालन गरेको हो ।
अभिमुखीकरणमा मुटु तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, मधुमेह, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मानसिक स्वास्थ्य समस्यालगायत पाँच प्रकारका प्रमुख नसर्ने रोगबारे जानकारी दिइएको थियो । स्वास्थ्यकर्मीले सरुवा रोगको तुलनामा नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएका थिए । उनीहरुले नसर्ने रोगबाट जोगिन दैनिक आहार र जीवनयापनको शैलीमा परिवर्तन आवश्यक रहेको बताए ।
कार्यक्रममा नसर्ने रोगको जोखिम र संवेदनशीलताको अवस्था पहिचान गर्ने विषयमा पनि छलफल गरिएको थियो । पी.इ.एन.डि. टेस्ट किटको आवश्यकता र महत्वबारे जानकारी दिँदै स्थानीय शासन प्रणालीमा नसर्ने रोगसम्बन्धी विषय कसरी समेट्ने भन्नेबारे सहभागीलाई जानकारी गराइएको थियो । नसर्ने रोगसम्बन्धी प्याकेजका विषयमा समेत जानकारी दिइएको थियो ।
विपद्का समयमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गर्नुपर्ने भूमिकालाई पनि अभिमुखीकरणमा प्राथमिकताका साथ उठाइएको थियो । स्वयंसेविकासँगै अन्य सरोकारवालाको जिम्मेवारीबारे छलफल गरिएको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकासहित वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, शिक्षक तथा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी र सदस्य सहभागी भएका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नरैनापुर, राप्तीसोनारी र डुडुवा पालिका शाखा तथा उपशाखाका पदाधिकारी र स्वयंसेवकको पनि सहभागिता थियो ।
अभिमुखीकरणको सहजीकरण कञ्चनपुरको लालझाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नन्दलाल राना, जनस्वास्थ्य अधिकृत विकास डंगौरा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए ।
कार्यक्रममा नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले पनि विचार व्यक्त गरे । राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारु, वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष नरबहादुर पुन र स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले समेत आफ्ना धारणा राखे ।
नेपाल रेडक्रस सोसाइटी नरैनापुर पालिका शाखाका संयोजक विक्रम प्रसाद वर्मा र डुडुवा पालिका शाखाका संयोजक सोहनलाल यादव लगायतले पनि कार्यक्रममा विचार व्यक्त गरेका थिए ।
