से फोक्सुण्डो यात्रा–३

खाना पाक्यो, खाना खायौं । यति गर्दा झण्डै साढे एक बजिसकेको थियो । चालक गाडीबाट उत्रेर गायब भएको त्यतिबेलासम्म पनि खाना खान बसेको थिएन । बबईमा ट्वाइलेटमा पौनेघण्टा बसेको यहाँपनि त्यसको धन्दा त्यहि होला आउला नि भन्ने लागेको थियो तर उ दुईघण्टासम्म पनि नआउँदा शंका झन बढेर गयो ।

लामो यात्रा थियो । सोहि दिन दुनै पग्ने योजना थियो । उता मित्र नवराजले आफु नियमित बस्ने गरेको होटलमा हामीहरु आउने कुरा भनिसक्नु भएको थियो । तन पो यता थियो मन त हामी दुबैको फोक्सुण्डो पुगेको थियो । त्यहाँ पुग्न कस्तो बाटो छ ? यात्रा कत्तिको सहज उस्साहपूर्ण हुन्छ कि हिँड्न नसकेर फर्किनुपर्ने हुन्छ भन्ने कौतुहलतापूर्ण थियो । डोल्पाको पहिलो रमणीय यात्राका कल्पनाहरु मनभरि खेलिरहेका थिए् ।

चालक दुई दुई घण्टासम्म हराउँदा अब डोल्पा यात्रामा नयाँ मोड आएजस्तो लाग्यो मलाई । अब उहि दिन दुनै पुग्ने कुरा अलि सम्भव नहुने भएपछि मन खिन्न हुन थाल्यो । घरबाट निक्किँदा ठेस लागेको, शनिबार यात्रा शुरु गरेको जस्ता कुराहरु पनि बुडापाकाले भन्ने गरेका कुराहरु पनि स्मरण भए मनमा । कतै यात्रा अपुरो त हुने होइन भन्ने पनि लाग्न थाल्यो ।

‘ए साहुनी त्यो गुरु कता गयो, आउँदैन त खानखान कि हो ?’ मैले होटल साहुनीलाई सोधें ।

‘त्यहिँ पछाडी छ आउला नि’ साहुनीले भनिन् ।

म पछाडी गएँ । ट्वाइलेट तिर थिएन । कोठामा ढोका लगाएर हातमा रेडबुल समातेको र चुरोट सल्काएको जस्तो ढोकाबाट देखें । ‘ए भाइ आउने होइन ? यो चालाले दुनै पुगिन्छ त आज ?’ मैले झ्यालबाट चियाउँदै चालकलाई भनें । ‘तपाइँलाई आज दुनै पुर्याए भएन, एकछिन पख्नुस न के को हतारो ?’ झ्यालको पर्दा सर्काउँदै उसले भन्यो ।

‘यो डाइभरको चाला ठिक छैन, बबईमा पनि यसले नाटक गर्यो अनि यहाँ त यसले बित्याँसै पार्ने भो त’ मैले अगाडी आएर सबैका सामु भनें । धर्म जी गएर उसको लागूऔषध सेवन गर्दै गर्दाको चर्तिकलाको क्लीप ल्याएर देखाउनु भयो । अनि पूर्ण जी जानु भयो । वहाँलाई त ‘दाई एक डोज दिएर आइहालें’ सम्म भ्याएछ ।

अब त अत्ति भयो । सबैजना ब्याकुल बन्न थाल्यौ. । चालकले अब यहिँ बितरा पार्ने भयो भन्ने सबैलाई लाग्न थाल्यो । यसलाई पुलिसको हवाला गरिदिने हो कि भन्ने सल्लाह पनि भयो । तर भो जसोतसो तल्लुबगरसम्म लैजानुपर्छ । अनि उता अफरोडमा अर्को ब्यवस्था गरौंला नि भन्ने पनि लागेको थियो सबैलाई तर यो अवस्थाको ड्राइभरले त तल्लु होइन तलै भेरितिर पो लैजान्छ बरु अर्को कुनै साधन मिल्छ कि भन्ने सल्लाह भयो । तर त्यहाँ तत्काल कुनै साधन पाउने सम्भावना थिएन । रहेन पनि ।

यत्तिकैमा अघि दिएको पर्ची लिन नआएकोमा प्रहरीले योे गाडीलाई निगरानी गरिरहेको रहेछ । ‘तपपाइँहरु आएको गाडीको ड्राइभर खोई ?’ हातमा पर्ची समाएर दुईजना प्रहरी आएर सोधे ।

कस्तो धर्म संकट । आफु आएको गाडीको ड्राइभरलाई कसरी पक्राउ गराउनु ? ‘खोई हामी पनि कुरिरहेका छौं’ सबैको मुखबाट एकचोटी यस्तै उत्तर आयो । ‘ए साहुनी त्यो कता छ ?’ प्रहरीले होटलवाली साहुनीलाई सोधे ।

एकजना प्रहरी सोध्दै पछाडी गयो । कोठामा बसेको र लागूऔषध सेवन गर्दै गरेको देखेर आएपछि अब प्रहरीले उसलाई पक्राउ गर्ने निधो गरेर छेडा चौकी इन्चार्जलाई फोन गरेर बोलाए ।

अब हामीलाई पनि खुल्न कुनै आपत्ती भएन । ‘ढोका बाहिरबाट लगाउनुस् कतै भागि हाल्ला नि ।’ मैले प्रहरीलाई भने ।

धर्मसरले लिएको क्लिप पनि पूर्ण सरले प्रहरीलाई देखाइदिनु भयो । मैले पनि बबईमा गरेको हर्कतबाट शंका लागेको कुरा भनें । अब चौकी इन्चार्ज पनि आइपुगेपछि उसलाई प्रहरीले कोठाभित्र रंगेहात लागूऔषध सेवन गरेकै अवस्थामा पक्राउ गरे । उसँग शायद थप स्टक पनि भएको पाए । दुई जना प्रहरीले समाएर पक्राउ गरि चौकीतिर लगे ।

पूर्ण डोल्पाका स्थानीय पत्रकार भएको, आफ्नै अनलाइन पत्रिका पनि चलाउने गरेको र अनलाइन खबर डट कमको संवादाता पनि रहेकोले यो खबर तुरुन्तै फोटोसहित अनलाइन खबरमा आयो ।

पूर्णले दुनै हिँडेका हामीहरुको चालकको लागू औषध सेवन र प्रहरी केसपछि छेडामा बिचल्ली परेका हामीहरुको सानो भिडियो बनाएर आफ्नो फेसबुकबाट पोष्ट गर्नु भयो । प्रहरीले मुचुल्का बनाउने देखि आफ्नो प्रक्रिया गर्न थाल्यो हामी छेडामा छक्क परेर चार घण्टा देखि बसिरहेका थियौं ।

कर्णार्ली सधैं काठमाण्डौंले ओझेलमा पारेको थियो । सिँहदरबारका चिसाचिसा कोठाभित्र कर्णालीको कथा बेच्ने, ब्यथा बेच्ने अनि त्यसैको मोलमा काठमाण्डौंमा महल ठड्याउने, सन्तानलाई विदेशमा सेटल गर्ने नेपाली राजनीति र ब्यूरोक्रेटको नियतिमा कुनै बदलाब आएको छैन । पछिल्लो समय सिँहदरबारको शक्तिलाई सघीयताको जलपमा गाउँठाउँमा उतार्ने भनेता पनि शक्ति त सिँहदरबारमा गरिने केन्द्रिकृत भ्रष्टाचार पार्टीको दलबल सहित गाउँगाउँमा गर्ने र कानूनै बनाएर त्यसलाई वैधानिकता दिने काम सबैभन्दा बढि भएको छ ।

कर्णाली जस्ता बिकट ठाउँहरु आजपनि दुःख देखाएर खाने, आइएनजिओलाई पस्केर जनताको नियत बिगार्ने ठाउँ बनेकै छ ।

हुम्ला कालीकोट, मुगु, डोल्पा जुम्ला बाटो ट्रयाक त पुग्यो तर त्यो सँगै अचाक्काली बिकृति पनि पुग्यो । तीनबर्ष पहिला मुगु जुम्ला जाँदा अनुभूत गरेको र अहिले डोल्पा जाँदै गर्दा जाजरकोट मै अनूभूत गर्न पाएको अवस्थाले डोल्पा सडकसञ्जालले देशको मुलधारमा जोडिएको मात्रै होइन लागूऔषधको खपतको नयाँ बजार पनि बन्दै गएको छ भन्ने पक्का भएको छ ।

यसबारे पत्रकार पूर्ण सार्कीको अनुभूति पनि त्यस्तै रहेछ । डोल्पामा कार्यरत केहि कर्मचारी र होटल व्यवसायीको पनि त्यहि अनूभति रहेछ ।

प्रजातन्त्र, लोकतन्त्र, कथित जनयुद्ध सबै परिवर्तनका डोबहरुमा कर्णाली त आजपनि उपेक्षित नै छ यसमा कसैले इन्तु किन्तु परन्तु गरेर मुक्ति त मिल्दैन तर डोल्पामा बाटोसँगै हरेक पाइलामा लागूऔषधको ुसेवा पक्कै पनि सुखद पक्ष हुनसक्दैन । यत्ति कै नेपालगञ्ज र आजपास आज लागू औषध कारोबारी र दुर्वेशनीको अड्डा बनेको होइन । आज दिन प्रतिदिन कणाली लागू औषधको बजार बन्दै गएकोले नेपालगञ्ज लागूऔषधको हब बनेको हो भन्न पनि सकिन्छ ।

पाँच घण्टाको छेडाको अवरोध पछि अब हाम्रा सामु दुईवटा मात्रै विकल्प थिए । गाडी त थिएन । या त त्यहिँ बस्ने या कसै गरि जाजरकोट खलङ्गा जाने र त्यहाँबाट कुनै विकल्प खोज्ने ।

समस्या हामी तीन जनालाई पर्यो । गाडीलाई पहिल्यै भाडा तिरि सकेका थियौं । मैले गाडीको चाबी लिँए र त्यहाँ लेखेको साहुको नम्बरमा प्रहरीको रहोबरमा फोन गरेर भाडा फिर्ता गर्न भनें । निकै लामो प्रयास र प्रहरीको पनि जोडबल अनि धर्मसरको बिशेष पहलमा वहाँ कै खातामा भाडा फिर्ता आयो । यसपछि हामीलाई त्यहाँबाट विकल्प खोज्ने बाटो खुल्यो ।

धर्मसर र पूर्णसरले रिर्जब गाडीको सोधखोज गर्नु भयो तर त्यहाँबाट तल्लुबगरसम्मका लागी नै पच्चीस सय भन्ने एउटा गाडी भेटियो । यो त सब हिसाब गर्दा नेपालगञ्जबाट जाँदा भन्दा पनि महङ्गो लाग्यो । प्रहरीले हामीलाई खलङ्गा जाने सुझाव दिए । हामी सुर्खेतबाट गएको इभी गाडी चढेर जनही दुईसय पचास तिरेर लाग्यौं खलङ्गातिर ।

छेडाबाट हिँड्दा पाँच बजेको थियो । अलिकती पर पुग्दा पानी पर्न थाल्यो । मिरमिरे सन्ध्या हुँदै लाग्दा जुनबेला हामी दुनै पु्ग्नुपर्ने थियो त्यो बेला त हामीहरु खलङ्गा पुग्यौं ।

ढिलै खाना खाएको भएता पनि भोक लागिसकेको थियो । पानी परेको चिसोले गर्दा जिउले चिया कफी केहि खान खोजेको थियो । तर समय थिएन उतिबेर त्यहाँ अल्मलिने । आज त जसरी पनि तल्लुबगर त पुग्नैपर्ने । अनि तल्लूबगर यताका केहि खोलाहरुमा पानी परेकोले बहाब बढ्न सक्ने भएकोले रातीको बेलामा झन बाटोमा अलपत्र पर्नु भन्दा यहाँ नअल्मलिने भन्ने निधो गरेर एउटा बोलेर खोज्यौं र त्यसमा झोलाझाम्टा राखेर त्यहाँबाट हिँड्यौं ।

मिरमिरे साँझका बेला फाट्टेपुट्टे पानी परेकै थियो तथापि खलङ्गाबााट हाम्रो यात्रा तत्लुतिरको शुरु भयो । क्रमशः

Exit mobile version