बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट ३२ किलो ५२० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिपरहवामा साइकलमा सवार स्थानीय ४० वर्षीय राम नरेश कुर्मीलाई चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा कुर्मीले चलाएको साइकलको पछाडि स्याउला तथा घाँसभित्र लुकाइछिपाइ राखेको गाँजाजस्तो देखिने पदार्थ १० किलो २२० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

त्यसपछि प्रहरीले कुर्मीलाई साथमा लिएर उनको घरकोठा तथा खेतबारीमा खानतलासी गर्दा खेतमा थुप्रो पारेर राखिएको थप २२ किलो ३०० ग्राम गाँजा बरामद गरेको हो । प्रहरीले दुवै स्थानबाट गरी कुल ३२ किलो ५२० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एक थान किप्याड मोबाइल र एक थान साइकलसमेत बरामद गरेको छ ।

पक्राउ परेका कुर्मीमाथि लागूऔषधसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

Exit mobile version