बडादशैंको लामो बिदाका क्रममा पनि बाँके जिल्ला अदालतले अत्यावश्यक न्यायिक सेवा प्रवाह गर्ने भएको छ । अदालतले सार्वजनिक बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति र त्यससम्बन्धी आवश्यक कार्यका लागि अदालत खुला रहने जनाएको छ ।
अदालत प्रशासन शाखाले शुक्रबार प्रकाशित गरेको सूचनाअनुसार असोज २४ गते शनिबार र २५ गते आइतबार सार्वजनिक बिदा परेको छ । त्यसैगरी असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म बडादशैंको बिदा हुने भएकाले अदालत लगातार १६ दिन बन्द रहनेछ ।
तर, न्याय प्रशासन ऐन, २०७३ को दफा २६ मा तीन दिन वा सोभन्दा बढी अवधिका लागि अदालत बन्द रहने अवस्थामा बिदाको अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाइ गर्ने व्यवस्था छ । यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्नुपर्ने भएकाले विशेष व्यवस्था गरिएको अदालतले जनाएको छ ।
सूचनाअनुसार शनिबार, घटस्थापना र दशैंका दिनबाहेक अन्य दिनमा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने, जरुरी पक्राउ पुर्जीको समर्थन गर्ने तथा सो समर्थनसँगै उपस्थित व्यक्तिलाई हिरासतमा राख्ने अनुमति दिने प्रयोजनका लागि अदालत खुला रहनेछ । उक्त प्रयोजनका लागि तोकिएका दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालतबाट सेवा प्रवाह हुने अदालत प्रशासन शाखाका शाखा अधिकृतले जारी गरेको सूचनामा उल्लेख छ ।
