नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन् नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८३÷०८४ को पहिलो दुई महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी गर्ने १२ वटा ढुवानीका साधन नियन्त्रणमा लिइएको छ ।

साउन र भदौ महिनामा गरिएको कारबाहीबाट कुल ५७ हजार रूपैयाँ जरिवाना असुल गरिएको विवरणले देखाएको छ ।

साउन महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संलग्न चारवटा ढुवानीका साधन नियन्त्रणमा लिई १६ हजार रूपैयाँ जरिवाना गरिएको थियो भने भदौ महिनामा आठवटा ढुवानीका साधन नियन्त्रणमा लिइएका थिए । जसबाट ४१ हजार रूपैयाँ जरिवाना असुल गरिएको छ ।

दुई महिनाको तथ्यांकलाई हेर्दा साउनको तुलनामा भदौ महिनामा अवैध उत्खनन तथा ढुवानीमा संलग्न ढुवानीका साधनको संख्या दोब्बर भएको छ । त्यस्तै, जरिवाना रकम पनि उल्लेख्य रूपमा बढेको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बैजनाथ गाउँपालिका वडा नं. २ बाट अवैध रूपमा माटो ढुवानी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठांैरले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

Exit mobile version