बुक क्याफेको पठन संस्कृतिलाई जोगाउँदै स्वादका पारखीलाई नयाँ गन्तव्य
कुनै बेला नेपालगन्जमा पुस्तक र स्टेशनरी व्यवसायबाट परिचित विजय भण्डारी ‘बासु’को लगानी खानपान व्यवसायमा थप विस्तार भएको छ । माउन्ट एभरेष्ट बुक एण्ड स्टेशनरीका सञ्चालक बासुले यसअघि ‘कुटुम्ब बुक क्याफे’ सञ्चालनमा ल्याउँदा उनको लगानी विविधिकरणलाई कतिपयले जोखिमका रूपमा चर्चा गरेका थिए । तर, बासुले त्यही प्रयासलाई थप विस्तार गर्दै अहिले ‘कुटुम्ब किचन’ सञ्चालनमा ल्याएका छन् ।
पुस्तक पढ्ने वातावरण र खानपानको सुविधालाई एउटै ठाउँमा समेट्ने उद्देश्यले सुरु गरिएको बुक क्याफेमा पठन संस्कृतिलाई थप सहज बनाउने लक्ष्यसहित किचन अलग्गै सञ्चालनमा ल्याइएको बासुले बताए । आइतवार कुटुम्ब किचनको शुभारम्भ गर्दै उनले दैनिक नेपालगन्जसँग भने, ‘बुक क्याफेमा पठन संस्कृतिलाई बाधा परेकाले अलग्गै किचन सुरु गरिएको हो ।’
बासुका अनुसार, कुटुम्ब किचनले खानाका पारखीलाई नयाँ गन्तव्य दिनेछ भने कुटुम्ब बुक क्याफेलाई पनि पुस्तक पढ्ने र अध्ययन गर्ने आफ्नै मर्मअनुसार सञ्चालन गर्न सहज हुनेछ । ‘यसले स्वादका पारखीलाई नयाँ गन्तव्य त दिन्छ नै, उता बुक क्याफेलाई असली मर्मअनुसार सञ्चालनको मौका दिएको छ,’ उनले भने ।
कुटुम्ब किचनमा सेकुवा, मम र नेपाली खानाका परिकार पस्किने तयारी गरिएको बासुले जानकारी दिए । ‘पुस्तक, पठन संस्कृति र खानपानलाई फरक पहिचानसहित अघि बढाउने उनको प्रयासले व्यवसाय विस्तारसँगै बुक क्याफेको मूल उद्देश्यलाई समेत जोगाउने अपेक्षा गरिएको छ,’ शुभारम्भमा पुगेका विपद् विज्ञ रुपन ज्ञवालीले भने ।
