सजल/सन्ध्या गैरे
कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ जितेर अन्तर्राष्ट्रिय चर्चा कमाएको नेपाली चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ नेपालगन्ज आइपुग्दा यसको बहस पुरस्कारमा मात्र सीमित रहेन । जंगल र जंगली हात्तीले घेरिएको नेपाली गाउँको परिवेशमा किन्नर समुदायकी महिला पिरती र उनकी हराएकी छोरीको खोजीलाई समेटेको चलचित्रले प्रेम, स्वतन्त्रता, जिम्मेवारी, पहिचान र सामाजिक स्वीकार्यताका प्रश्नलाई दर्शकमाझ पु¥याएको छ ।
लाग्छ, यो विषयबस्तु र दृष्य, सवाल र बहस हाम्रै बाँके–बर्दियाका ग्रामीण वस्तीबाट उठाइएको हो ।
यतिबेला नेपालका हलमा प्रदर्शन भइरहेको चलचित्रको नेपालगन्जमा विशेष प्रदर्शनसँगै आइतवार प्यानल छलफल पनि गरिएको छ । प्रदर्शनमा विभिन्न क्षेत्रका व्यक्ति, अधिकारकर्मी तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि सहभागी थिए । कान्समा पुरस्कार जितेको चलचित्र भएकाले प्रदर्शनअघि नै दर्शकमाझ यसको कथावस्तु र प्रस्तुतिबारे चासो थियो ।
चलचित्र हेरेपछि भने दर्शकका प्रतिक्रिया एकै खालका रहेनन् । केहीले समाजमा खुलेर बहस हुन नसकेका विषयलाई पर्दामा ल्याएको भन्दै प्रशंसा गरे । केहीले भने यस्ता संवेदनशील विषयलाई अझ फरक ढंगले प्रस्तुत गर्न सकिने धारणा राखे । प्रतिक्रियामा भिन्नता देखिए पनि चलचित्रले उठाएका विषयमाथि नेपालगन्जमा बहस सुरु भएको छ ।
विशेष प्रदर्शनका क्रममा चलचित्रका निर्माता अनुप पौडेलसँग दैनिक नेपालगन्जले सिनेमा हलमै कुराकानी गरेको थियो । लामो मेहनतपछि चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा सफलता पाउँदा कस्तो लागेको छ भन्ने प्रश्नमा पौडेलले अवार्ड जित्ने लक्ष्य राखेर मात्र चलचित्र नबनाएको बताए । समाजमा उठाउनुपर्ने विषय देखेकाले त्यसलाई पर्दामा ल्याउने प्रयास गरेको उनको भनाइ थियो ।
‘मैले सोचेर गरेको होइन, यस्तो विषयलाई ल्याउनैपर्छ भन्ने लाग्यो । त्यसैले ल्याउन खोजेको हुँ । अहिले मेहनतको फल पाउँदा एकदमै खुसी लागेको छ,’ पौडेलले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्जको प्रदर्शनमा चलचित्रको कथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दर्शकका लागि आफ्नै जीवन र समाजसँग जोडिएको विषय बन्यो । समुदायका केही प्रतिनिधिले चलचित्रमा देखाइएका अवस्था नेपालगन्ज, बाँके– बर्दियामै पनि विद्यमान रहेको बताए । समाजले देखेर पनि प्रायः बेवास्ता गर्ने यथार्थलाई चलचित्रले पर्दामा ल्याएको उनीहरूको प्रतिक्रिया थियो ।
‘हामी पनि यही समाजको हिस्सा हौँ’ भन्ने अनुभूति चलचित्रले गराएको उनीहरूको भनाइ थियो । समाजमा आफ्नो पहिचानसहित बाँच्न खोज्ने व्यक्तिले सामना गर्नुपर्ने चुनौती र स्वीकार्यताको प्रश्नलाई चलचित्रले बहसमा ल्याएको उनीहरूले बताए ।
यद्यपि, चलचित्रको प्रस्तुतिबारे समुदायका प्रतिनिधिका सुझाव पनि थिए । केही विषयलाई अझ संवेदनशील ढंगले देखाउन सकिने उनीहरूको धारणा थियो । आगामी दिनमा यस्ता कथा निर्माण गर्दा समुदायभित्रका फरक अनुभव र आवाजलाई पनि थप समेट्नुपर्ने उनीहरूले सुझाए । उनीहरूका अनुसार समुदायको कथा प्रस्तुत गर्दा बाहिरबाट देखिएको अवस्थासँगै भित्रका विविध अनुभवलाई बुझ्नु पनि आवश्यक छ ।
चलचित्रमा अप्सरा पात्रमार्फत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समाजको दृष्टिकोणलाई प्रश्न गरिएको छ । परिवार र समाजबाट स्वीकार गरिने अवस्था कस्तो छ भन्ने विषय पनि कथामा जोडिएको छ । आफ्नै पहिचानका साथ जीवन बिताउन खोज्दा कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने प्रश्नलाई चलचित्रले उठाएको छ ।
यस अर्थमा ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ एउटा पात्र वा समुदायको कथा मात्र होइन । फरक पहिचान भएका व्यक्तिलाई समाजले कसरी हेर्छ, उनीहरूको अस्तित्वलाई कति सहज रूपमा स्वीकार गर्छ र उनीहरूलाई समान रूपमा बाँच्न कस्तो वातावरण दिन्छ भन्ने प्रश्नसँग चलचित्र जोडिएको छ । नेपालगन्जको प्रदर्शनपछि उठेको बहसले पनि चलचित्रको सामाजिक पक्षलाई थप उजागर गरेको छ ।
निर्देशक अविनाश विक्रम शाहको यो पहिलो फिचर चलचित्र निर्देशन हो । कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेपछि चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । त्यसपछि नेपाली हलमा प्रदर्शनमा आएको चलचित्रले ओस्कारको यात्रा पनि तय गरेको छ । यस वर्ष नेपालको तर्फबाट ओस्कार प्रतिस्पर्धाका लागि ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ छनोट भएको हो ।
कान्समा प्राप्त सफलतादेखि ओस्कार प्रतिस्पर्धासम्म पुगेको चलचित्र नेपालगन्जमा प्रदर्शन हुँदा भने चर्चा पुरस्कारमा मात्र अडिएन । यसले स्थानीय समाज, समुदायभित्रका अनुभव र अझै पर्याप्त रूपमा सार्वजनिक बहसमा नआएका विषयलाई समेत अगाडि ल्याएको छ ।
चलचित्र हेरेर बाहिरिएका दर्शकका प्रतिक्रिया फरक–फरक थिए । कसैले यसको विषयवस्तुको प्रशंसा गरे भने कसैले प्रस्तुतिमा थप संवेदनशीलता आवश्यक रहेको औंल्याए । तर, चलचित्रले उठाएको विषयमा सोच्नुपर्ने र बहस गर्नुपर्ने आवश्यकता भने प्रदर्शनपछि झनै स्पष्ट भएको देखियो । चलचित्रले कथा सुनाउने कामसँगै समाजले बेवास्ता गरिरहेका यथार्थतर्फ ध्यान खिचेको छ ।
