१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा

धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण मंसिर १२ गते शनिबार नेपालगन्जमा हुने भएको छ। यसपटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको छ।

स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, १० किलोमिटर महिला खुला, पाँच किलोमिटर पुरुष खुला, पाँच किलोमिटर महिला खुला, पाँच किलोमिटर स्कुलस्तरीय छात्र–छात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल समावेश छन्।

४२ किलोमिटरको पुरुष खुला म्याराथनमा महिलाले पनि आफ्नो व्यक्तिगत समयका लागि दौडिन चाहेमा विद्युतीय चिप उपलब्ध गराइनेछ। त्यस्तै, महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा समय सुधारका लागि दौडिन चाहने पुरुष धावकलाई पनि विद्युतीय चिप प्रदान गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए।

४२ किलोमिटरतर्फ विभिन्न उमेर समूहमा समेत वरियताक्रम निकालिने उनले बताए। ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहका धावकलाई पहिलो, दोस्रो र तेस्रो वरियता प्रदान गरी प्रोत्साहन गरिनेछ। एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने व्यवस्था यसपटक पनि निरन्तर रहनेछ। साथै, उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गरिनेछ।

विभिन्न विधाका शीर्ष धावकलाई मेजर म्याराथनलगायत वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, इलाईट र लेभल रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ। अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिए। दर्ताका लागि नेपालगन्ज म्याराथनको वेबसाइटमा जानुपर्ने उनले बताए।

नेपालगन्ज म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा विश्वभरका रेसमध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो।

नेपालगन्ज म्याराथन सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको छ। कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल पालना गर्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम यसले गरेको थियो। एघार वर्षे सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्ज म्याराथन सुरु गरिएको हो।

बहुजाति, धर्म र सम्प्रदायका मानिसको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सद्भाव र एकताको सूत्रमा बाँध्ने प्रभावकारी माध्यमका रूपमा म्याराथनलाई अघि बढाइएको हो। अहिले नेपालगन्ज म्याराथनसँग करिब एक दर्जन भगिनी इभेन्ट सञ्चालनमा छन्।

स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएका समस्याबारे सचेत गराउने र अनुकूलनका लागि प्रेरित गर्ने उद्देश्यले गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएका छन्। रात्रीकालीन समयमा समेत सुरक्षित अनुभूति दिलाउने उद्देश्यले नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन्।

विश्वसामु नेपाली सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि काठमाडौं २५ किमी हेरिटेज रेस सुरु गरिएको छ। कर्णाली प्रदेशमा पनि कर्णाली हाफ म्याराथन सुरु गरिएको छ। लोकतन्त्रमा संवाद र बहस अपरिहार्य रहेको महसुस गर्दै नेपालगन्ज डिस्कोर्सको शृंखलाअन्तर्गत नेपालगन्ज कन्क्लेभका छ संस्करण सञ्चालन भइसकेका छन्।

गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गरिएको थियो। त्यसमा १८ देशका प्रतिनिधि सहभागी थिए। यस वर्षदेखि ‘वन ग्लोबल माइल’ अन्तर्गत नेपालमा कोहलपुर माइल पनि सुरु गरिँदै छ। यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशित हुँदै आएको छ।

नेपालगन्ज म्याराथनले विभिन्न अवधारणामा निरन्तर काम गरिरहेको विषयको मूल्यांकनका आधारमा प्रतिष्ठित अवार्ड प्रदान गरिएको आफूलाई लागेको संस्थापक टीएस ठकुरीले बताए। ‘हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौँ,’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई ऊर्जा दिनेछ। नेपाललाई विश्वभर चिनाउनेछ।’

Exit mobile version