जंगलबाट प्रहरीले मंगलबार पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । दाङका तीन स्थानबाट चार थान र सुर्खेतको सिम्ता गाउँपालिकास्थित जंगलबाट एक थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
दाङको लमही नगरपालिका र बंगलाचुली गाउँपालिकाका सामुदायिक वनबाट चार थान भरुवा बन्दुक फेला परेका हुन् । वडा प्रहरी कार्यालय लमही र अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरी टोलीले लमही नगरपालिका–१ सुण्डबरीस्थित जनता सामुदायिक वनबाट दुई थान बन्दुक बरामद गरेको हो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमही नगरपालिका–९ शिवखोलास्थित गायत्री सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित स्याले छरछरी सामुदायिक वनबाट थप एक थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, सुर्खेतको सिम्ता गाउँपालिका–४ रावत टोलस्थित सल्लेटा जंगलबाट पनि प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको टोलीले मंगलबार दिउँसो उक्त बन्दुक फेला पारेको हो ।
दुवै जिल्लाका जंगलबाट बरामद भएका बन्दुकका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
