व्यवसायिक वातावरण माग

शान्ति सुव्यवस्था सुनिश्चित गरि नेपालगन्जमा व्यवसायिक वातावरण बनाउन माग गरिएको छ । दशैं तिहार लगायतका पर्वहरुको अवसर पारेर होटल व्यवसायी संघ बाँके नेपालगन्जले मंगलवार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमका वक्ता, विभिन्न व्यवसायी क्षेत्रका अगुवाहरुले उक्त माग गरेका हुन् ।

संघका अध्यक्ष भीमलाल कडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, बाँके प्रहरी प्रवक्ता, डिएसपी प्रतितसिंह राठौर लगायतले मर्यादित पर्व मनाउनेतिर ध्यानाकर्षण गराएका थिए ।

व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुले राज्य संयन्त्रबाट पर्वका बेला निर्धक्क व्यवसाय सञ्चालनको वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए ।

सोही कार्यक्रममा नेपालगन्ज पर्यटन परिषद्को नयाँ कार्यसमितिको पदभार ग्रहण पनि गरिएको छ । गत साता सकिएको परिषद्को पहिलो अधिवेशनले हान नेपालगन्जका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेको अध्यक्षतामा परिषद्को कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

उक्त कार्यसमितिलाई अधिवक्ता बसन्त गौतमले निर्वाचन अधिकृतका रुपमा सपथसँगै पदभार ग्रहण गराएका हुन् ।

Exit mobile version