बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकाका अति विपन्न चार परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत सो सहयोग उपलब्ध गराएको हो ।
राजापुर नगरपालिका वडा नं. २, ३, ५ र ८ का आर्थिक तथा सामाजिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी उक्त सहयोग सामग्री वितरण गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार बालबालिकाको दैनिक जीवनयापन सहज बनाउनुका साथै उनीहरूलाई नियमित रूपमा विद्यालय जान र पठनपाठनलाई निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको हो ।
सहयोग सामग्री राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सम्बन्धित परिवारका बालबालिकालाई हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बी.के., वित्त तथा खरिद अधिकृत होमकुमार चौधरी र फिल्ड सुपरभाइजर प्रमिसा थारूलगायतको सहभागिता रहेको थियो ।
आर्थिक अभावका कारण बालबालिकाको शिक्षा तथा दैनिक जीवनयापनमा पर्न सक्ने कठिनाइ न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री, खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको जनाईएको छ ।
यस सहयोगले विपन्न परिवारका बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न, शिक्षामा उनीहरूको निरन्तर पहुँच सुनिश्चित गर्न तथा सिकाइ प्रक्रियालाई सहज बनाउन सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सहयोग सामग्री हस्तान्तरणपछि सम्बोधन गर्दै नगर प्रमुख दीपेश थारूले बालबालिकालाई नियमित रूपमा विद्यालय जान, लगनशीलताका साथ अध्ययन गर्न र उपलब्ध शैक्षिक अवसरहरूको सदुपयोग गर्न प्रोत्साहित गर्नुभयो । उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सिकाइ निरन्तरता र शैक्षिक प्रगतिमा जोड दिनुभयो ।
हरेक बालबालिकाले शिक्षा प्राप्त गर्ने, सुरक्षित वातावरणमा हुर्कने र सम्मानजनक जीवन जिउने अवसर, आर्थिक तथा सामाजिक कठिनाइका कारण कुनै पनि बालबालिकाको सिकाइ र विकासमा अवरोध आउन नदिन स्थानीय सरकार, समुदाय तथा विकास साझेदारबीचको सहकार्य महत्वपूर्ण भएको बाँके युनेस्को क्लबले जनाएको छ ।
