बाँकेको नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयबाट ११६ जना सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। शिक्षालयमा सञ्चालित सि।सं। २३९ ९ज० को तालिम पूरा गरेका जवान बिहीबार आयोजित अन्तिम दीक्षान्त कवाज समारोहमा दीक्षित भएका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो। अधिकारीले अन्तिम दीक्षान्त कवाजको निरीक्षण गर्नुका साथै सलामी ग्रहण गरेका थिए। उनले तालिमका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कारसमेत वितरण गरे।
समारोहलाई सम्बोधन गर्दै अधिकारीले दीक्षित जवानलाई अनुशासित, कुशल, सक्षम र जिम्मेवार प्रहरी कर्मचारीका रूपमा राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए। तालिमका क्रममा हासिल गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न उनले आग्रह गरे। संगठनको गरिमा उच्च राख्दै जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए।
मंसिर १९ गतेदेखि सञ्चालन भएको तालिममा गौरी विष्ट सर्वप्रथम भएकी छन्। उनले सैद्धान्तिकतर्फ पनि प्रथम स्थान हासिल गरेकी छन्। कवाजतर्फ सपना बोहोरा, चाँदमारीतर्फ अर्जुन बोहोरा, इन्डुरेन्स अर्थात् सहिष्णुतातर्फ नवीन कुमाल र व्यावहारिकतर्फ पारस सिंह उत्कृष्ट घोषित भएका छन्।
सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताका अनुसार तालिम अवधिमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई अधिकारीले पुरस्कार प्रदान गरेका थिए। आधारभूत तालिमका क्रममा प्रशिक्षार्थीले विभिन्न विधामा हासिल गरेको उपलब्धिका आधारमा उत्कृष्ट छनोट गरिएको शिक्षालयले जनाएको छ।
समारोहमा शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक चित्रांगत दाहालले धन्यवाद ज्ञापन गरेका थिए। तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन सशस्त्र प्रहरी निरीक्षक निरकबहादुर शाहीले गरेका थिए।
शिक्षालयका अनुसार नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयबाट हालसम्म १५ हजारभन्दा बढी दक्ष सशस्त्र प्रहरी कर्मचारी उत्पादन भइसकेका छन्।
