लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

भेरीमा पनि विस्तार गरिने

नेपालगन्जस्थित भेरी अस्पतालसहित बर्दिया अस्पताल र भीम अस्पतालका १७ जना नर्सिङ कर्मचारीलाई मातृ तथा नवजात शिशुको हेरचाहसम्बन्धी तालिम दिइएको छ ।

लुम्बिनी प्रदेशका ६ वटा अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम सञ्चालन भइरहेका बेला भेरी अस्पतालमा पनि यो कार्यक्रम विस्तार गर्ने तयारी गरिएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले भेरीमा पनि परिवार स्वास्थ्य हेरचाह कार्यक्रम आवश्यक रहेको बताए । ‘भेरीमा पनि यो कार्यक्रम आवश्यक छ, सुरु गरिनेछ,’ उनले दैनिक नेपालगन्जसँग भने ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बहुउद्देश्यीय विकास समाज, डडेल्धुराको सहकार्य तथा नुरा हेल्थको आर्थिक र प्राविधिक सहयोगमा तालिम आयोजना गरेको हो । दुई दिनसम्म चलेको तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा भेरी अस्पताल, बर्दिया अस्पताल र भीम अस्पतालका नर्सिङ कर्मचारी सहभागी थिए ।

नुरा हेल्थ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ डा. सुशील कोइरालाका अनुसार, तालिमको मुख्य उद्देश्य नर्सिङ कर्मचारीको मातृ तथा नवजात शिशुको स्याहारसम्बन्धी ज्ञान र सीप बढाउनु हो । यससँगै परिवारका सदस्यलाई आवश्यक स्वास्थ्य शिक्षा दिन सक्ने क्षमता विकासमा पनि जोड दिइएको थियो ।

तालिममा मातृ पोषण, स्तनपान, नवजात शिशुको उचित हेरचाह, स्वास्थ्य जोखिमका संकेत पहिचान र समयमै स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने विषयमा सहजीकरण गरिएको नुरा हेल्थ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ डा. कोइरालाले जानकारी दिए । उनका अनुसार, आमा र नवजात शिशुको स्वास्थ्यमा देखिन सक्ने समस्या समयमै पहिचान गर्न तथा आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउन स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।

परिवार स्वास्थ्य हेरचाह कार्यक्रमले स्वास्थ्यकर्मीमार्फत बिरामी र परिवारका सदस्यलाई स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी दिने लक्ष्य राखेको छ । यसबाट घरमै गरिने हेरचाहको गुणस्तर सुधार गर्न सकिने अपेक्षा गरिएको छ । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवद्र्धनमा पनि कार्यक्रमले योगदान पु¥याउने डा. कोइरालाले बताए ।

तालिम उद्घाटनका अवसरमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, मेडिसिन विभागका प्रमुख डा. संकेत रिसाल, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कृष्ण गोपाल चौधरी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि तथा स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसी सहभागी थिए ।

कार्यक्रममा नुरा हेल्थ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ डा. सुशील कोइराला र बहुउद्देश्यीय विकास समाजका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रकाश मडैले पनि सहभागिता जनाएका थिए ।

Exit mobile version