दैनिक नेपालगन्ज
पश्चिम नेपालको ¥याप संगीतमा सुरुवाती समयदेखि सक्रिय नेपालगन्जका युवा चिकित्सक डा. अभिषेक अर्जेल ‘एटू ¥यापर’ नयाँ गीत ‘प्रियसी’ लिएर दर्शकमाझ आएका छन् । उनले आफ्नो नयाँ म्यूजिक भिडियो ‘प्रियसी’ शुक्रवार नेपालगन्जका पत्रकारमाझ सार्वजनिक गरे ।
थाइल्यान्डको फुकेटमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा नेपालगन्जका युवा उद्यमी असिम प्रसाईं विदेशी कलाकारसँग मोडलका रुपमा देखिएका छन् । ‘मैले आफ्नै मौलिकतामा यो सिर्जना लिएर आएको हो,’ सन् २००६ देखि गायन यात्रा सुरु गरेका डा. अर्जेलले दैनिक नेपालगन्जसँग भने ।
एटु ¥यापरका नामले परिचय दिन रुचाउने डा. अर्जेलले सन् २००८ मा नेपालगन्जस्थित वेभ डिजिटल रेकर्डिङ स्टुडियोमा आफ्नो पहिलो गीत रेकर्ड गरेका थिए । त्यसपछि सन् २०१३ सम्म उनले करिब १६ देखि १८ वटा गीत तयार पारे । उनका प्रारम्भिक गीतमा ‘बितेका ती कुरा’, ‘मेरो नेपाल’, ‘झोलाभरी जी’, ‘कस्तो नाता’, ‘नेपाली टार्गेट’, ‘चोखो माया’, ‘कान्छा कम्मर हल्लाइदेऊ’, ‘इन माइ माइन्ड’, ‘बुद्ध’ र ‘संविधान’ लगायत छन् ।
उनले प्रेम, देशप्रेम र सामाजिक विषयलाई समेटेर गीत तयार पारेका छन् । ‘कान्छा कम्मर हल्लाइदेऊ’ तीज गीतका रुपमा सार्वजनिक भएको थियो । उनका गीतमा मनोरञ्जनसँगै सामाजिक चेतना र राष्ट्रिय भावनासमेत समेटिएको देखिन्छ ।
सन् २०१४ मा चीनमा स्नातकोत्तर अध्ययन गरिरहेका बेला अर्जेलले ‘दशैं’ गीत सार्वजनिक गरेका थिए । विदेशमा अध्ययनका क्रममा पनि उनले संगीत यात्रालाई निरन्तरता दिएको समाचार दैनिक नेपालगन्जले प्रकाशन गरेको थियो । त्यसको अर्को वर्ष सन् २०१५ मा नेपाल फर्किएर उनले ‘वेटिङ फर यू’ गीत रेकर्ड गरे । उक्त गीतमा नेपाल आइडलकी प्रतिस्पर्धी सन्ध्या जोशीको समेत सहभागिता थियो ।
कोरोना महामारीका बेला अर्जेलले जनचेतनामूलक ‘कोरोना सङ’ तयार पारेका थिए । महामारीबाट बच्न सावधानी अपनाउनुपर्ने सन्देश दिने उद्देश्यले तयार गरिएको उक्त गीत उनको संगीत यात्राको अर्को महत्वपूर्ण काम थियो । त्यसपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको निर्वाचन अभियानका लागि राजनीतिक गीतसमेत तयार पारेका थिए । ‘गीत हिट भएपछि लामिछानेले फोन गरेर धन्यवाद पनि दिए,’ राजनीतिमा त लागिएन नि ! दैनिक नेपालगन्जको जिज्ञासामा डा. अर्जेलले शुक्रवार सिनेरोयलमा भने, ‘त्यसपछि उहाँसँग कुरा भएको छैन, जितेपछि फोनपनि आएन ।’
उनको यसअघिको गीत ‘मेरो देश’ सात महिनाअघि सार्वजनिक भएको थियो । त्यसपछि उनी अहिले ‘प्रियसी’ मार्फत दर्शकमाझ आएका हुन् । नयाँ गीतको छायांकन थाइल्यान्डको फुकेटमा गरिएको छ । भिडियोमा नेपालगन्जका युवा उद्यमी असिम प्रसाईं विदेशी कलाकारसँग देखिएका छन् । ‘स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय दृश्य प्रस्तुतिमा जोड्ने अवसरसमेत बुझ्न सकिन्छ,’ कार्यक्रममा सहभागी सिनेपत्रकारको टिप्पणी थियो ।
नेपालगन्ज र पश्चिम नेपालमा ¥याप संगीतको सुरुवाती चरणदेखि सक्रिय डा. अर्जेलको सांगीतिक यात्रामा विभिन्न विधाका गीत समेटिएका छन् । सन् २००८ मा पहिलो गीत रेकर्ड गरेदेखि सामाजिक चेतनामूलक, देशभक्तिपूर्ण, प्रेमप्रधान र राजनीतिक विषयका गीतसम्म उनले काम गरेका छन् । ‘प्रियसी’ उनको पछिल्लो सांगीतिक प्रस्तुति हो । ‘अहिलेसम्म कति गीत गरियो भन्ने रेकर्डनै राखेको छैन,’ ५० बढी गीत दर्शकस्रोतालाई पस्किइसकेका डा. अर्जेलले भने ।
