नेपालगञ्जमा बडा दशैँ २०८३ को सातौँ दिन अर्थात् फूलपातीका शुभ अवसरमा शनिवार प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भव्य शोभायात्रा तथा फूलपाती भित्र्याउने कार्यक्रम सांगीतिक र धार्मिक उल्लासका साथ आयोजना गरिएको छ।
नेपाल टुरिजम रिसर्च एण्ड इनोभेसन (नेपाल ट्रिप), नेपालगन्ज, बाँकेको आयोजनामा शनिबारका दिन परम्परागत रीतिरिवाज र सांस्कृतिक रौनकका साथ यो भव्य कार्यक्रम आयोजना गरिएको हो।
नेपालगञ्जको ऐतिहासिक तथा धार्मिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस शोभायात्रामा बाँके जिल्लाभरका प्रमुख धार्मिक तथा सांस्कृतिक संघ-संस्थाहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो।
आयोजकका अनुसार, कार्यक्रममा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, राप्तीसोनारीको मुँवर भवानी मन्दिर व्यवस्थापन समिति, खजुराको लक्ष्मी नारायण मन्दिर तथा मनकामना मन्दिर व्यवस्थापन समिति, नरैनापुरको सन्तानेश्वर मन्दिर व्यवस्थापन समिति र कोहलपुर पिपरीको कालिका मन्दिर व्यवस्थापन समितिको सहभागिता रहेको थियो।
साथै, बाँके कला केन्द्र, गुल्मेली भजन समूह तथा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका दुर्गा पुजा धार्मिक तथा सांस्कृतिक समूहहरूको समेत विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ ।

बडा दशैँको पावन अवसरमा परम्परागत धर्म, संस्कृति, सामाजिक सद्भाव र भ्रातृत्वलाई सुदृढ बनाउने लक्ष्यका साथ शोभायात्रा निकालिएको आयोजक संस्था नेपाल ट्रिपले जनाएको छ।
कार्यक्रमबारे प्रकाश पार्दै नेपाल ट्रिपका अध्यक्ष श्रीराम सिग्देलले जिल्लाका सबै मुख्य धार्मिक केन्द्रहरूलाई एकीकृत गरी बडा दशैँमा यसरी सामूहिक रूपमा फूलपाती भित्र्याउने परम्पराले स्थानीय धार्मिक पर्यटनलाई टेवा पुर्याउने र यसैका माध्यमबाट क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरे ।
झाँकी, भजन-कीर्तन र सांगीतिक माहौलसहित निकालिएको यो शोभायात्राले नेपालगञ्ज बजार क्षेत्रको वातावरणलाई उत्सवमय बनाएको थियो। विभिन्न मन्दिरबाट ल्याइएको फूलपातीलाई बागेश्वरीका मूल महन्त चन्द्रनाथ योगीले स्वागत अनुष्ठान गरेका थिए ।