समाजसेवी सिंहद्वारा प्रहरीलाई प्रविधि हस्तान्तरण

नेपालगञ्जको शान्ति सुरक्षा तथा निगरानी प्रणालीलाई प्रविधिमैत्री बनाउन एक महत्त्वपूर्ण प्रयास भएको छ।

सघन सहरी क्षेत्रमा उच्च निगरानी राख्नका लागि समाजसेवी विकासबहादुर सिंहले वडा प्रहरी कार्यालय नेपालगञ्जलाई एक थान आधुनिक ड्रोन क्यामेरा हस्तान्तरण गरेका छन् ।

गोल्डेन एबिसी स्कुलका संस्थापक निर्देशक सिंहले आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक शेखर खड्कालाई उक्त ड्रोन क्यामेरा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजसेवी विकासबहादुर सिंहले समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने मुख्य जिम्मेवारी प्रहरीको भए पनि आम नागरिकले पनि आ-आफ्नो ठाउँबाट सहयोग र हातेमालो गर्नुपर्ने बताए । प्रविधिको प्रयोगले प्रहरीको कार्यक्षमता अभिवृद्धि हुने र अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास सिंहले व्यक्त गरे ।

साँघुरा गल्ली र सघन बस्तीमा निगरानी सहज हुने
ड्रोन ग्रहण गर्दै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख, प्रहरी निरीक्षक शेखर खड्काले प्रविधिको प्रयोगले नेपालगञ्जका साँघुरा गल्ली र बाक्लो बस्ती भएका क्षेत्रमा सुरक्षा निगरानी गर्न निकै सहज हुने बताए ।

“ड्रोनको माध्यमबाट सम्भावित घटना वा सुरक्षा जोखिमको पहिचान गरी आवश्यकताका आधारमा तत्काल प्रहरी उपस्थिति बढाउन सकिन्छ,” प्रहरी निरीक्षक खड्काले भने, “समुदायबाट यसरी नै निरन्तर सहयोग प्राप्त भइरहे सुरक्षा व्यवस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउन सकिन्छ।”

सहयोगी समाजसेवी सिंहप्रति हार्दिक आभार व्यक्त गर्दै खड्काले नेपाल प्रहरी सधैँ समुदायसँग सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।

ड्रोन सहयोग हस्तानतरण कार्यक्रममा स्थानीय युवाहरुको सहभागिता थियो ।

Exit mobile version