बडा दशैंको अवसरमा नेपालगन्जको भृकुटीनगरमा दुर्गा अष्टमीका दिन युवाहरुले भजन–कीर्तन आयोजना गरेका छन्। एमआरआर टिममा सक्रिय नेपालगन्ज, बर्दिया तथा काठमाडौंमा रहेका युवाहरु नेपालगन्ज आएको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। एमआरआरको स्थापनाकालदेखि नै जोडिँदै आएका प्रवेश भुसाल पनि कार्यक्रममा सहभागी थिए।
भुसालले चाडपर्वलाई केवल रमाइलोका रूपमा नभई युवाहरुलाई एक ठाउँमा जोड्ने र आफ्नो संस्कार तथा संस्कृतिसँग नजिक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले युवाहरुबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनमा यस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने योजना रहेको बताए।
दैनिक नेपालगन्जसँग कुरा गर्दै नेपालगञ्जका युवा अंकित श्रीवास्तव भन्छन् ,नेपालगन्जका युवाहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिने सोचसहित पहिलोपटक भजन–कीर्तनको सुरुवात गरेका हुन्। सहभागिता जुटाउने उद्देश्यले गरिएको पहिलो प्रयासमा अपेक्षाअनुसार धेरै युवा सहभागी हुन नसके पनि सुरुवात उत्साहजनक रहेको उनले बताए। आगामी दिनमा अझ धेरै युवालाई जोडेर कार्यक्रमलाई निरन्तरता दिने तयारी रहेको श्रीवास्तवको भनाइ छ।
