आयुष्मान खुराना र सारा अली खान अभिनीत फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुपलाई पत्र लेख्दै सो फिल्म प्रदर्शनका लागि अनुमति नदिइएको उल्लेख गरेको छ ।
आकाश कौशिक निर्देशित फिल्म ‘उड्ता तीर’ शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । तर, मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३) ले निषेध गरेको विषयवस्तुमा चलचित्र निर्माण भएको पाइएकाले सोही नियमअनुसार सार्वजनिक प्रदर्शनको अनुमति दिन नसकिएको जनाएको छ ।
खासमा के हो कारण ?
यो फिल्मले घुमाइफिराइ भारत–पाकिस्तानबीचको तिक्तताकै कथा भनेका कारण केन्द्रीय चलचित्र जाँच समितिले सार्वजनिक प्रदर्शनमा रोक लगाएको बताइन्छ ।
‘एउटाको फिल्मले अर्को देशको छविमा घात पर्न जाने खालको फिल्म रोक्न पाउने व्यवस्था छ,’ फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सिना भन्छन्, ‘किनभने दुवै हाम्रो लागि मित्रराष्ट्र हुन् ।’ कुनैपनि देशको राष्ट्रियता, त्यहाँको समुदाय आदिलाई सोझै असर पर्ने खालको फिल्म रोक्न पाउने व्यवस्था रहेको उनले बताए ।
निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ ले यस्तो फिल्मको प्रदर्शन उपयुक्त नहुने ठहर गरेको छ । त्यसको एउटा बुँदामा भनिएको छ, ‘कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको वा विभिन्न वर्ग वा जातिका बीचको सुसम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन ।’
यही बुँदामा टेकेर सेन्सर बोर्डले ‘उड्ता तीर’लाई प्रदर्शनको अनुमति नदिएको समीक्षक सामिप्यराज तिमिल्सिनाको भनाइ छ । यद्यपि, बलिउडमा भारत–पाकिस्तानकै विषयमा थुप्रै फिल्म बनेका छन् र त्यो क्रम अझै रोकिने देखिँदैन । बलिउडले भारत–पाकिस्तानबीचको द्वन्द्व र प्रतिशोधको कथा मात्र पस्किएको छैन, प्रेम र भाइचाराको कथा पनि समेटेको छ ।
‘कुनै देशबीचको द्वन्द्व र प्रतिशोधको कथा फिल्ममा आइरहन्छ नै,’ समीक्षक तिमिल्सिना भन्छन्, ‘यस्ता फिल्म प्रतिबन्ध लगाउँदै जाने हो भने फेरि त्यसले छुट्टै जटिलता ल्याउन सक्छ ।’ यस्तो अवस्थामा फिल्मले उठाएको विषयवस्तु, त्यसको संवेदनशीलतालगायत पक्षलाई हेर्नुपर्ने उनको सुझाव छ ।
यसअघि फिल्म ‘अल्फा’ र ‘बंटवारा’को प्रदर्शनलाई लिएर पनि यस्तै लफडा भएको उनको भनाइ छ ।
त्यसो त, निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को एउटा बुँदामा लेखिएको छ, ‘तर चलचित्रको कुनै भाग काँटछाँट वा हेरफेर गरेर प्रदर्शन गराउँदा यस उपदफाको प्रतिकूल नहुने देखिएमा चलचित्र जाँच समितिले आवश्यकताअनुसार काँटछाँट वा हेरफेर गरी प्रदर्शन गर्ने अनुमति दिन सक्नेछ ।’

के छ ‘उड्ता तीर’मा ?
‘उड्ता तीर’ स्पाई–कमेडी फिल्म हो । निर्देशक आकाश कौशिकको यो पहिलो फिचर फिल्म हो । धर्मा प्रोडक्सन्स तथा सिख्या इन्टरटेन्मेन्टले निर्माण गरेका हुन् ।
आयुष्मान खुरानाले बिलाल अहमद नामका पाकिस्तानी जासुसको भूमिका निर्वाह गरेका छन् । उनलाई भारतमा एउटा मिसनका लागि पठाइन्छ । तर, दुर्घटनापछि उनले आफ्नो स्मृति गुमाउँछन् । स्मृति गुमाएपछि उनी आफूलाई भारतीय प्रतिआतङ्कवाद अधिकारी ठान्छन् र देशभक्तिमा डुबुल्की मार्छन् ।