बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली नेपाल प्रहरीको कार्यदक्षता मूल्यांकनमा देशभरमै प्रथम हुँदै सर्वोत्कृष्ट घोषित भएको छ । प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईं कार्यालय प्रमुख रहेको धनौली इलाका प्रहरी कार्यालयले प्रहरी ब्याटन, २०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान हासिल गरेको हो ।
सर्वोत्कृष्ट कार्यालय घोषित भएसँगै कार्यालय प्रमुख प्रहरी निरीक्षक चापागाईं पनि देशभरका इलाका प्रहरी कार्यालयका प्रमुखमध्ये सर्वोत्कृष्टका रूपमा सम्मानित भएका छन् । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस, २०८३ को अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चापागाईंलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षक कार्यालय प्रमुख रहेका देशभरका इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र प्रहरी प्रभागमध्येबाट गरिएको कार्यदक्षता मूल्यांकनमा धनौलीले उत्कृष्टता हासिल गरेको हो । बाँकेको ग्रामीण क्षेत्रमा कार्यक्षेत्र रहेको यस कार्यालयले देशभरका प्रहरी कार्यालयबीच प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्नुलाई जिल्लाकै लागि गौरवको उपलब्धिका रूपमा हेरिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर प्रहरी निरीक्षक चापागाईंले प्रदर्शन गरेको पेसागत व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कर्मचारी तथा कार्यालयको परिचालन र कार्यकुशलतालगायत समग्र कार्यसम्पादनका आधारमा उनलाई सर्वोत्कृष्ट कार्यालय प्रमुखका रूपमा छनोट गरिएको हो ।
