दुई महिलाको हवाई उद्धार

डोल्पा र जाजरकोटमा जटिल प्रसूति समस्यामा परेका दुई महिलाको हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्‍याइएको छ ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएपछि अवस्था जटिल बनेको थियो । स्थानीय स्तरमा पर्याप्त उपचार सुविधा नहुँदा उनलाई सोमबार उद्धार गरी सुर्खेत ल्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

यसैगरी, जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया किशोरीलाई पनि जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत दुवै महिलाको उद्धार गरिएको हो । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो ।

राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन अवस्थामा सहयोग आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई उद्धार र उपचारका लागि सहयोग गर्दै आएको छ ।

Exit mobile version