नीलसागरमा दसैंको खुसी, टीका लगाउँदा भावुक बने आश्रित

नेपालगन्ज — दसैं आफन्तसँग भेटघाट गर्ने, आशीर्वाद लिने र खुसी साटासाट गर्ने पर्व हो । तर, आफ्ना परिवार र आफन्तबाट टाढा आश्रममा बसिरहेका बालबालिका र ज्येष्ठ नागरिकका लागि यस्ता पर्वको खुसीसँगै भावनात्मक क्षण पनि जोडिएका हुन्छन् । यही भाव र खुसीबीच नीलसागर सेवाश्रममा बुधबार बडादसैं मनाइएको छ ।

आश्रममा आश्रित ८५ बालबालिका र १६० ज्येष्ठ नागरिकसहित २४५ जनाले टीका र जमरा लगाएर दसैं मनाएका हुन् । टीका, दक्षिणा र मिष्ठान्न भोजनसहित आयोजना गरिएको दसैं उत्सवले आश्रममा चाडपर्वको रौनक थपेको थियो ।

आश्रम सञ्चालक सरिता खनालले आश्रितहरूलाई टीका लगाइदिँदै दसैंको खुसी साटासाट गरेको जानकारी दिइन् । उनले आश्रितहरूलाई टीका लगाइदिइरहँदा आश्रममा उत्सवमय वातावरण देखिए पनि कतिपय क्षण भावुक बनेका थिए ।

आफन्तसँगै बसेर दसैं मनाउने अवसर नपाएका बालबालिका र ज्येष्ठ नागरिकलाई आश्रममै टीका लगाएर आशीर्वाद लिने, दक्षिणा पाउने र मिठो भोजन गर्ने अवसर जुटाइएको थियो । आश्रममा आयोजित उत्सवले दसैंको खुसी बाँड्ने र आपसी आत्मीयता बढाउने प्रयास गरेको छ ।

Exit mobile version