कम्युनिस्ट आन्दोलनका अग्रज बाबुराम गौतमको निधन

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य बाबुराम गौतमको ८० वर्षको उमेरमा निधन भएको छ । उनको बुधबारै अन्त्येष्टि गरिएको छ ।

बाँकेमा कम्युनिस्ट आन्दोलनको विकासमा योगदान दिएका गौतमको निधनले नेकपा (एमाले) बाँके र लुम्बिनी प्रदेशले अग्रज नेता तथा अभिभावक गुमाएको एमालेका नेताहरूले बताएका छन् ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य सतीश निरौलाले गौतमको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीले अपूरणीय क्षति बेहोर्नुपरेको बताएका छन् । कम्युनिस्ट आन्दोलनका भेरी अञ्चलस्तरीय अगुवा गौतमले २०२३ सालमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालबाट पार्टी सदस्यता लिएको निरौलाले उल्लेख गरेका छन् ।

एमालेका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपतिले गौतमलाई नेपाली कम्युनिस्ट आन्दोलनको जीवित इतिहास र बाँकेमा कम्युनिस्ट आन्दोलनको बीजारोपण गर्ने ज्येष्ठ कम्युनिस्ट अगुवाका रूपमा स्मरण गरेका छन् । गौतम हक्की, निडर र स्वाभिमानी व्यक्तित्व भएको उल्लेख गर्दै कक्षपतिले उनको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

गौतमको निधनप्रति एमालेका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै उनलाई कम्युनिस्ट आन्दोलनका एक अग्रज व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।

Exit mobile version