जिल्ला प्रहरी कार्यालय बाँकेले असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ। यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन्। सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नेपालगन्जले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरणअनुसार जघन्य तथा गम्भीर प्रकृतिका अपराधदेखि सामान्य अपराध र आर्थिक अपराधसम्मका घटना प्रहरीमा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये जघन्य प्रकृतिका १२ र गम्भीर प्रकृतिका ४६ वटा छन्। सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ। आर्थिक अपराधका १६ वटा घटना पनि दर्ता भएका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। उक्त मुद्दामा एक जना पक्राउ परेका छन्।
प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फर्छ्योटलाई पनि प्राथमिकता दिएको छ। सार्वजनिक चासोका २० वटा मुद्दाको सफल अनुसन्धान गरिएको विवरणमा उल्लेख छ। चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको छ।
अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ। यस क्रममा ७० जना पक्राउ परेका छन्। उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको विवरणमा उल्लेख छ। त्यसैगरी बिगो तथा क्षतिपूर्तिबापत ३४ लाख ११ हजार ७५३ रुपैयाँ असुल गर्नुपर्ने विवरण सार्वजनिक गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरुपणमा पनि प्रहरीले काम गरेको छ। असोज महिनामा यस प्रकृतिका १०६ वटा उजुरी प्राप्त भएका छन्। तीमध्ये ९३ वटा फर्छ्योट भएका छन् भने १३ वटा फर्छ्योट हुन बाँकी छन्। मातहतका प्रहरी कार्यालयबाट प्राप्त विवरणसमेत यसमा समेटिएको छ।
पीडित तथा पीडकको उमेर समूहका आधारमा गरिएको विश्लेषणमा १८ देखि २५ वर्ष उमेर समूहका ९२ जना र २६ देखि ३९ वर्ष उमेर समूहका ३४ जना रहेको विवरणमा उल्लेख छ।
हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ। असोज महिनामा महिला १२ जना, बालिका १४ जना, बालक ११ जना, ज्येष्ठ नागरिक पुरुष दुई जना र पुरुष एक जना हराएको विवरण छ।
हराएकामध्ये महिला १६ जना, बालिका १३ जना, बालक छ जना, ज्येष्ठ नागरिक पुरुष दुई जना र पुरुष दुई जना फेला परेको विवरणमा उल्लेख छ। अझै फेला पर्न नसकेकामा महिला पाँच जना, बालिका एक जना र बालक छ जना छन्। ज्येष्ठ नागरिक पुरुष तथा पुरुषतर्फ भने फेला पर्न बाँकी नरहेको विवरणमा उल्लेख छ।
घरेलु हिंसासम्बन्धी उजुरीको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ। यस अवधिमा घरेलु हिंसाका ६७ वटा उजुरी परेका छन्। तीमध्ये ६६ वटा उजुरी मिलापत्र गराइएको वा अदालत पठाइएको प्रक्रियामार्फत फर्छ्योट भएका छन्। घरेलु हिंसासम्बन्धी घटनाको स्थानीय तहगत विश्लेषण भने नगरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नेपालगन्जले शुक्रवार सार्वजनिक गरेको विवरणमा अपराध अनुसन्धान तथा नियन्त्रण, अदालतका फैसला कार्यान्वयन, महिला तथा बालबालिकासम्बन्धी उजुरीको व्यवस्थापन र हराएका व्यक्तिको खोजीलाई असोज महिनाका प्रमुख कार्यका रूपमा समेटेको छ। उक्त विवरण जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट सम्पादन गरिएका कामका आधारमा तयार गरिएको हो।
